संयमित भएर चुनाव प्रचार गर्न आग्रह

काठमाडौं, बैशाख २५ । चुनाव प्रचारप्रसारका क्रममा नेकपा (माओवादी केन्द्रं) गोरखाले नयाँ शक्ति पार्टीका कार्यकर्तालाई आक्रमण गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दललाई संयमित भएर चुनाव प्रचारप्रसार गर्न आग्रह गरेको छ । शनिबार साँझ माओवादीको आक्रमणबाट चारजना नयाँ शक्तिका कार्यकर्ता घाइते भएपछि आज सदरमुकाममा बैठक डाकेर मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले संयमित भएर आचारसंहिता पालना गर्दै चुनाव प्रचार गर्न आग्रह गरे ।

उनले भने,‘चुनावी प्रचारका लागि उम्मेदवारले चारपाङ्ग्रे एउटा गाडी र दुईवटा मोटरसाइकल अनुमति लिएर प्रयोग गर्न पाइन्छ । अनुमति नलिई प्रयोग गरिएका सवारी फेला पारेमा कानुनअनुसार कारबाही गर्छौं ।’ एउटा पार्टीले अर्को पार्टीको आलोचना गर्न नहुने, साम्प्रदायिक भावना तथा वर्गविशेषको आलोचना गर्न नहुने आचारसंहितामा उल्लेख रहेकाले त्यसो गरेको भेटिएमा रु एक लाखसम्म जरिवाना र उम्मेदवारी नै रद्द गर्न सकिने चेतावनी पनि पौडेलले दिए । समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रजिअ जितेन्द्र बस्नेतले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण र सवारी तोडफोडमा संलग्नमध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिए । यस्तै प्रजिअ बस्नेतले कानुन हातमा लिने जो कोहीलाई नछाड्ने चेतावनी दिए ।

दुई नगरपालिकासहित ९ वटा गाउँपालिकाभित्र रहेका दुई सय १३ निर्वाचनस्थलमा सुरक्षाफौज, निर्वाचन अधिकृतलगायत कर्मचारी, निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री पुर्‍याएको भन्दै प्रजिअ बस्नेतले सहायक प्रजिअ केशवराज शर्माको संयोजकत्वमा प्रनाउ, मेजर रहेको सुरक्षा सेल गठन गरिसकिएको जानकारी दिए । गोरखाका सम्पूर्ण नाकामा सुरक्षाको व्यवस्था कडाइ गरिएको छ । अन्य जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको थप जनशक्ति गोरखा ल्याइएको छ ।

 

 

 क्याटेगोरीः