निर्वाचित पदाधिकारीको शपथको बाधा फुकाइयो

काठमाडौं, जेठ २ । निर्वाचन आयोगले गाउँपालिका र नगरपालिकाका निर्वाचित पदाधिकारीको शपथ सम्बन्धमा कायम रहेको बाधालाई फुकाएको छ । संसद्मा विचाराधीन स्थानीय तहको शासन सञ्चालन विधेयकमा स्थानीय तहका पदाधिकारीको शपथसम्बन्धी प्रावधान राखिएको छ । तर उक्त ऐन नआइसक्दा शपथ कसरी गराउनेबारे अन्योल थियो ।
आयोगले स्थानीय तह निर्वाचन नियमावलीलाई संशोधन गरी त्यसमा शपथसम्बन्धी व्यवस्था थपेको छ । आयुक्त इला शर्माले शपथसम्बन्धी अन्योल हटेको जानकारी दिइन् ।
‘ऐन नआइसकेको अवस्थामा नवनिर्वाचितलाई कसरी शपथ गराउने भन्ने अन्योल थियो,’ उनले भनिन्, ‘शपथका लागि अब छुट्टै ऐन चाहिँदैन । निकास निकालिएको छ । स्थानीय तह निर्वाचन नियमावलीलाई संशोधन गरी शपथको प्रावधान राखिएको छ । अब परिणाम आएको तीन दिनभित्र शपथ भइसक्छ ।’
नियमावलीअनुसार गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुख र वडाध्यक्षले निर्वाचन अधिकृतबाटै शपथ लिनेछन् । आयोगले सरोकारवाला कानुन, गृह र संघीय मामिला मन्त्रालयसँगको परामर्शपछि यो व्यवस्था मिलाएको हो । आयोगको कानुन महाशाखा प्रमुख सहसचिव सुशील कोइरालाले शपथसम्बन्धी व्यवस्था रहेको ऐन नआइसकेको अवस्थामा संविधान कार्यान्वयनको असल नियतले नियमावलीमा उक्त प्रावधान राखिएको बताए ।समाचार आजको कान्तिपुरमा छापिएको छ ।
स्थानीय तह निर्वाचनको सम्पूर्ण प्रक्रियाका लागि आयोगले प्रत्येक गाउँपालिका र नगरपालिकामा उपसचिव स्तरका कर्मचारीलाई निर्वाचन अधिकृत तोकेर पठाएको छ । मतगणनापछि निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्ने अधिकार पनि निर्वाचन अधिकृतलाई तोकिएको छ । पहिलो चरणमा वैशाख ३१ मा भएको २ सय ८३ स्थानको मतगणना भइरहेको र परिणाम पनि आउने क्रम सुरु भएको छ । वडा सदस्यलाई भने सम्बन्धित गाउँपालिकाका अध्यक्ष वा नगरपालिकाका प्रमुखले शपथ गराउने छन् । प्रत्येक वडामा अध्यक्षबाहेक ४ सदस्य पदका लागि मतदान भएको छ । तीमध्ये एक दलितसहित दुई महिला पद आरक्षित छन् ।

 क्याटेगोरीः