विश्व आदिवासी दिवस मनाइयो


इसमता संवाददाता
काठमाडौं, साउन २५ । प्रधानमन्त्री शेरबहादु देउवाले आज भाषा, धर्म र संस्कृतिका धनी नेपालका आदिवासी जनजातिहरु देशकै गहना भएको बताए ।

आज नेपाल आयोजित २३औ विश्व आदिवासी दिवसको कार्यत्रमmमा उनले विश्वलाई आकर्षण गर्नसक्ने नेपालका आदिवासी जनजातिहरुको धर्म, भाषा र संस्कृति लोप नहोस् भनेर सचेत गराए ।

उनले संविधानमा गल्तीहरु भए संशोधन गरेर सुधार्नसक्ने संभावना पनि औल्याए ।

 

साथै संविधानमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था भएकोले आवश्यकता अनुसार यसको घोषणा गर्दै जान सक्ने पनि बताए ।

 

उनले आदिवासी जनजाति भनेका महिला र दलितहरु जस्ता शोषणमा नपरेका हुनाँले उनीहरुका लागि आयोग होइन प्रतिष्ठान बनाएको र यस प्रतिष्ठानमार्फत आदिवासी जनजातिका भाषा, संस्कृतिको प्रवर्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको पनि स्मरण गराए ।
संघीय समाजबादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले धेरैको दबावका बाबजुद पनि सरकार जहिले पनि संविधान संशोधनका लागि आलटाल गरिरहेकोमा विरोध प्रकट गरे । उनले भने, “सरकार यदि संशोधन गरेर आदिवासी जनजातिहरुको अधिकार दिन तयार छैन भने आदिवासीजनजातिहरुले यो संविधानको खारेजीको लागि आन्दोलन गर्ने छ ।”
उलने नेपालको संविधान संघीयताको दृष्टिकोणबाट हेर्दा निकै निकृष्ट र कमजोर भएको बताए ।
साथै उनले प्रधानमन्त्री देउवाले आफैले घोषणा गरेको संविधान नपढी गैरजिम्मेवारी ढंगले बोलेकोमा आपत्ति पनि जनाए । “देशका प्रधानमन्त्री स्वयत्त क्षेत्र छ भन्नुहुन्छ । आश्यर्च लाग्छ । आफैले बनाएको संविधान पढ्छ कि पढ्दैन देशको प्रधानमन्त्री ? संविधानमा लेखेको छ भन्नलाई लाज लाग्दैन राज्यसत्तालाई ?” उनले सोधे ।

 

महासंघका अध्यक्ष जगत बरामले सरकारले हालै आदिवासी जनजातिहरुलाई अल्पसंख्यकहरुको सूचीमा राखेकोमा विरोध गरे । साथै उनले नेपालका विभिन्न भागलाई त्यहँ बसोबास गर्ने आदिवासीहरुको आधारमा स्वायत्त, संरक्षित तथा विशेष क्षेत्र घोषणा गर्न पनि माग गरे ।

 

महासंघका सल्लाहकार मल्ल के सुन्दरले पहिला ६२ ६३को आन्दोलन हुँदा जनजातिहरु सँगसँगै गएको तर संविधान बन्दा भने जनजातिको माग र मुद्दाहरुको सम्बोधन नगरेको बताए ।

 

उनले सरकारले आदिवासी जनजातिलाई अल्पसंख्यक बनाएकोमा विरोध गर्दैे जनजाति आयोगलाई राष्ट्रिय स्तरको बनाउन पनि माग गरे ।
महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पाले एकआध जनजातिका मानिस मेयर वा मन्त्री भएर सबै जनजातिहरुले आधिकार नपाउने उल्लेख गर्दै यो संविधानले आखिरमा देशमा हालिमुहाली गर्ने बाहुनक्षेत्रीलाई मात्र परिभाषित गरेर उनीहरुको मात्र अधिकारको ग्यारेन्टी गरेकोमा दुख व्यक्त गरे ।

कार्यक्रममा महासंघका पूर्व महासचीव सुरेश आले मगरलाई सम्मान गरिएको थियो भने यसै आदिवासी दिवसको उपलक्ष्यमा आयोजित खेलकुद कार्यक्रमका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।
कार्यक्रमअगाडि देशका विभिन्न आदिवासी जनजातिका जातीय संगठनहरुले परम्परागत पहिरन र मौलिक बाजागाजाका साथ झाँकी सहितको रयालीले नगर परिक्रमा गरेको थियो ।

फोटो : तेज बहादुर गुरुङ

 क्याटेगोरीः आदिवासी जनजाति