विविधता बिचको एकता नै नेपाली संस्कृतिको विशेषता : गच्छदार


इसमता संवाददाता

ललितपुर, असार २६ । उपप्रधान मन्त्री विजय कुमार गच्छेदारले विविधता बिचको एकता नै नेपाली संस्कृतिको विशेषता भएको बताएका छन् ।

 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को १६औ बैठकमा मन्तव्य दिँदै उनले स्थनीय तहहरुमा अहिले देशभरीका आदिवासी जनजातिको भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नै थप जिम्मेवारी पर्न गएको बताएका हुन् ।

 

मुलुक संघीयतामा गइसकेको र यसले हालसम्म केन्द्रीकृत व्यवस्थाका कारणले सिर्जना भएको विभेदको अन्त्य गरी समतामुलक न्यायको प्रत्याभूति दिन यस संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताएका छन् ।

 

साथै उनले हाल सम्म प्रतिष्ठानले नेपालका आदिवासी जनजातिहरुको भाषा धर्म, संंस्कृतिको संरक्षण विकास तथा प्रवर्धन गर्न खेलेको भूमिको प्रशंसा पनि गरे ।

 

गच्छेदार प्रतिष्ठानका सहअध्यक्ष पनि हुन् ।

 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सुरेश आले मगरले अहिलेको संविधानले आदिवासी जनजातिको अधिकारको सुरक्षा नगरेको र जनताले मागेको पहिचान सहिताको संघीयता नदिएकोले सदियौं देखि पिडित आदिवासी जनजातिहरुको संघर्ष आज पनि जारी रहेको बताए ।

 

 

संविधानले नै व्यवस्था गरेको स्वायत्त र संरक्षित प्रदेशलाई वर्तमान सर।कारले नकारेको छ । यसैको नाममा बनेको आयोगले प्रतिवेदन बुझाउँदा गाउँ पालिका र नगरपालिकाको मात्र सीमांकन गरेर संविधानको खिल्ली उडाउने काम उक्त बालानन्द पौडेल शर्माले गरेको पनि उनको भनाइ थियो ।

 

यसका साथै उनले हाल भारतको दार्जिलिङमा भइरहको आन्दोलनलाई समर्थन जनाउँदै त्यहाँको राज्य सरकारले आन्दोलनकारीहरुमाथि गरेको दमनको निन्दा पनि गरेका छन् ।

 

नेपाली कांग्रेसका इन्द्रबहादुर गुरुङले जुनसुकै पार्टीसँग आबद्ध भएपनि आदिवासी जनजातिका सवालमा सबै एकजुट भएर अगाडि बढ्न अपिल गरे ।

 

संघीय समाजवादी फोरम नेपालका रकम चेमजोङले संविधानले हालको अवस्थामा सीमांकन हेरफेर र प्रदेशको संख्या घटबढ गर्न निषेध गरेकोले जनजातिहरुले आफ्नो अधिकारको लागि सडकमा जानुको विकल्प नरहेको बताए ।

 

नेकपा एमालेका पेम्बा भोटे गुरुङले सरकार प्रतिष्ठानको बजेट घटाउँदै यसलाई क्रमशःखारेज गर्नतिर लागेको हुँदा सबै एकजुट भएर संघर्ष गर्नुपर्ने बताए । साथै उनले आफुलाई एमालेका सबै एजेण्डा ठिक नलागेको पनि प्रष्ट पारे ।

 

 

नेपाल लोकतान्त्रिक पmोरमका सोनाम छिरिङ शेर्पाले जबसम्म जनजातिले सिंहदरवार कब्जा गर्न सक्दैन तबसम्म जनजातिहरुको साँचो अर्थमा मुक्ति नहुने बताए । साथै टाउकोमा बाहुन राखेर भट्टीमा गएर बाहुनलाई गाली गर्ने प्रवृतिको पनि आलोचना गरे ।

 

साथै प्रतिष्ठानका पूर्व पदाधिकारी डा चैतन्य सुब्बाले जनजाति आयोगले आदिवासी जनजातिहरुको भाषिक, साँस्कृति अधिकार कहाँ कति हनन भयो भनेर अध्ययन गरेर प्रतिवेदन बनाउने र प्रतिष्ठानले आदिवासी जनजातिहरुको भाषा धर्म र संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएकोले दुबैको आवश्यकता अहिले रहेको बताए ।

 

 

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले हाल प्रतिष्ठानको खचै कटौती गरिरहेको तर्फ ध्यानाकर्षण गर्दै हाल बन्नलागेको आदिवासी जनजाति आयोग को स्वागत गरे भने यसका साथै प्रतिष्ठानको काम कर्तव्य अलग भएकोले यसको औचित्य समाप्त नभएको पनि बताए ।

 

प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले नेपालको सन्दर्भमा प्रतिष्ठान र आयोग दुबै आवश्यक भएकोले दुबैलाई मिलाएर अगाडि बढ्नुपर्ने बताए ।

 क्याटेगोरीः