‘विप्लवका कार्यकर्ता भेट्नासाथ समात्नू’

काठमाडौं, बैशाख २६ । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ ।निर्वाचन बिथोल्ने उद्देश्यले उच्छृंखल र आपराधिक गतिविधि बढाएपछि गृह मन्त्रालयले विप्लवका कार्यकर्ता खोजी गरी पक्राउ गर्न सुरक्षा निकायलाई सर्कुलर गरेको हो ।

आगामी आइतबार ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने स्थानीय तह निर्वाचन बिथोल्ने उद्देश्यले अभियान तीव्र पारेपछि गृहले विप्लवका कार्यकर्ता पहिचान गरी पक्राउ गर्न सुरक्षा निकायलाई दिर्नेशन दिएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयले सोमबारसम्ममा निर्वाचन बिथोल्ने अभियानमा लागेका १ सय ८ जनालाई सार्वजनिक मुद्दा चलाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले निर्वाचन बिथोल्ने अभियानमा लागेका विप्लवका कार्यकर्तामाथि कडा निगरानी गरिएको बताउनुभयो । ‘निर्वाचन बिथोल्ने जोकोहीमाथि सार्वजनिक मुद्दा लगाउँछौं’, प्रवक्ता पन्थीले अन्नपूर्णसँग भन्नुभयो, ‘विप्लवका कार्यकर्ता पहिचान गरी तत्काल पक्राउ गर्न गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।’समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

 

प्रवक्ता पन्थीले गृह मन्त्रालयले उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा व्यवस्था मिलाएको जानकारी दिनुभयो । गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई विप्लवका कार्यकर्ताको गतिविधिमाथि निगरानी बढाउनुका साथै उम्मेदवार र मतदाताको सुरक्षामा विशेष ध्यान पुर्‍याउन निर्देशन दिएको छ । गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लवका कार्यकर्ताको घुसपैठ भएको हुनसक्ने भन्दै चनाखो रहन सुरक्षा निकायलाई सचेत गराएको छ ।

गृहले निर्वाचन बिथोल्ने जोकोहीलाई पक्राउ गरी तत्काल सार्वजनिक मुद्दा चलाउन निर्देशन दिएको हो । निर्वाचन बिथोल्ने अभियान घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले उम्मेदवार र मतदातालाई धम्क्याउने, आतंकित बनाउने उद्देश्यले सार्वजनिक स्थलमा विस्फोटक पदार्थ राख्ने, राजनीतिक दलले आयोजना गरेको चुनावी सभा बिथोल्ने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई तत्काल पक्राउ गर्न भनेको हो ।

 क्याटेगोरीः