लिम्बुवान पुस्तकालय स्थापनार्थ सहयोग हस्तान्तरण


इसमता संवाददाता
ललितपुर, चैत ३१ । लिम्बुवान अध्ययन केन्द्रले ‘लिम्बुवान पुस्तकालय’ स्थापनाको लागि सिङगापुरमा सेवारत तथा सेवानिवृत्त महानुभावहरुको साथ पाएको छ ।

 

अध्ययन केन्द्रको कार्यालय, ललितपुर चुम्लुङ हिममा आयोजना भएको आजको एक कार्यक्रममा ‘लिम्बुवान पुस्तकालय संस्थापक समुह, सिङगापुर’का तर्फबाट तीन जना सदस्यहरु भुपेन तुम्बापो, मान बहादुर कन्दङ्वा र राजन लाबुङ को उपस्थिती रहेको थियो । उनीहरुले अध्ययन केन्द्रका संयोजक अर्जुन लिम्बुलाई संयुक्त रुपमा रुपैयाँ पाँच लाख पाँच रुपैँयाको चेक हस्तान्तरण गरे । संस्थापक समुहमा १८ जना सदस्य रहेका छन् । जसमध्ये संस्थापक समुहका सदस्य मान बहादुर कन्दङ्वाले सबैभन्दा बढी रुपँया एक लाख सत्तरी हजार रुपैयाको योगदान दिएका छन् । पुस्तकालय स्थापनासँगै यसको निरन्तर सञ्चालन र व्यवस्थापनका लागि पनि सहयोग जारि रहने कुरा सिङगापुरबाट संयोजन गरिरहेका टंक याङहिङबाङले बताएका छन् ।
कार्यक्रममा लिम्बुवान अध्ययन केन्द्रका सदस्य डिबी आङबुङले लिम्बुवान पुस्तकालय स्थापनाको औचित्य, आवश्यकता, महत्व तथा विविध पक्षमा पेपर प्रस्तुत गरेका थिए । उनका अनुसार लिम्बु जाति र लिम्बुवानसम्बन्धी जति पनि भएका सम्पूर्ण अध्ययन सामग्री पुस्तक र पत्र–पत्रिका तथा ऐतिहासिक दस्तावेजहरू एकै ठाउँमा कतै पनि छैनन् । ती कति त सकेर हराएर गए भने कतिचाहिँ उचित संरक्षण, सम्वद्र्धन र व्यवस्थापनको अभावले चाडै हराएर जाने अवस्थामा छन् । यस्ता सम्पूर्ण प्रकाशित, प्रकाशित, हस्तलिखित वा सङ्कलित विभिन्न अध्ययन सामग्रीहरूलाई मागेर, किनेर वा नक्कलप्रति उतारेरै भए पनि एकै ठाउँमा सङ्कलन गरी राख्नसक्नु आजको पहिलो र प्रमुख आवश्यकता भएकाले लिम्बुवान अध्ययन केन्द्रले कदम अघि बढाएको बताए ।
कार्यक्रममा बोल्दै कियाचु केन्द्रीय महासचिव गोविन्द आङबुङले यस लिम्बुवान लाइब्रेरीले लिम्बु समुदायको बौद्धिक तथा प्राज्ञिक विकासमा ठूलो जग निर्माण गर्ने कुरा बताए । कार्यक्रममा अध्ययन केन्द्रका संयोजक अर्जुन लिम्बुले लाइबे्ररीजस्तो महत्वकांक्षी योजनामा साथ दिएकोमा लिम्बुवान पुस्तकालय संस्थापक समुह, सिङगापुरप्रति आभार प्रकट गर्दै अन्य व्यक्ति वा समुदायलाई पनि यसको निरन्तर सञ्चालन र व्यवस्थापनका लागि सहयोगको अपिल गरे । साथै यथासक्य चाडो अध्ययन सामग्रीहरू खरिद वा सङ्कलन गरी पुस्तकालयको आरम्भ हुने पनि उनले जानकारी दिए ।

 

लिम्बुवान अध्ययन केन्द्र एउटा बिशुद्ध प्राज्ञिक संस्था हो जसले लिम्बु समुदायका विभिन्न पक्षमा अध्ययन, अनुसन्धान, अन्तरक्रिया, अभिलेखीकरण, प्रकाशन लगायतका क्षेत्रमा कार्य गरिरहेको छ । ‘लिम्बुवान लाइब्रेरी’ हाल किरात याक्थुङ चुम्लुङ अन्तर्गत् यसको एक विषयगत सङ्गठनका रुपमा गठित प्राज्ञिक संस्था लिम्बुवान अध्ययन केन्द्रको मातहतमा रहने पुस्तकालय हो । यसको अवधारणा, व्यवस्थापन र सञ्चालन सम्बन्धी विशेष विनियम बनाई लिम्बुवान अध्ययन केन्द्रले नियमित रुपमा व्यवस्थापन र सञ्चालन गर्नेछ । यसले अहिले काठमाडौ, लिम्बुवान तथा देश–विदेशमा उच्चशिक्षा हासिल गरिहेका विद्यार्थी र विभिन्न क्षेत्रका स्वतन्त्र अध्येता तथा अभियन्ताहरूलाई समेत एक अध्ययन केन्द्र को रुपमा सेवा प्रदान गर्नेछ ।

 क्याटेगोरीः आदिवासी जनजाति