रोकिएन अनुत्पादक क्षेत्रमा कर्जा

काठमाडौं, जेठ ३ । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा बढ्दो कर्जा नियन्त्रण गर्न बारम्बार विभिन्न नीति ल्याए पनि यस्तो क्षेत्रमा कर्जा प्रवाह कम हुन सकेको छैन । केन्द्रीय बैंकले नीतिगत रूपमा कडाइ गरे पनि बैंकहरूले साथ नदिँदा यस्तो कर्जामा कमी आउन नसकेको देखिएको छ ।

केन्द्रीय बैंकले फागुन पहिलो साता चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै अनुत्पादक क्षेत्रको कर्जामा कडाइ गरेको थियो । तर, केन्द्रीय बैंकको नीति तथा निर्देशनअनुसार बैंकहरूले कर्जा व्यवस्थापन गर्न नसक्दा यस्तो क्षेत्रमा जाने कर्जा वृद्धि झनै बढ्दै गएको छ ।

ओभरड्राफ्ट, घरजग्गा कर्जा, हायर पर्चेज र सेयर मार्जिन कर्जा घटाउने नीति लिइए पनि चैत मसान्तसम्ममा त्यो क्षेत्रको लगानी बढेकै देखिन्छ । यी क्षेत्रमा प्रवाह हुने कर्जा बढ्दा समग्र वित्तीय प्रणाली नै प्रभावित हुनसक्ने भन्दै केन्द्रीय बैंकले नियन्त्रण गर्न निर्देशन दिएको थियो । आयात बढ्दा मुलुकको व्यापारघाटा बढेर समग्र अर्थतन्त्र नै समस्यामा पर्दै आएको छ ।

बैंक वित्तीय संस्थाहरूले चैत मसान्तसम्ममा ८ खर्ब २७ अर्ब रुपैयाँ अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । यो लगानी गत आवको सोही अवधिको तुलनामा २९.७२ प्रतिशतले धेरै हो ।

गत आवको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले सो क्षेत्रमा ६ खर्ब ३७ अर्ब रुपैयाँ अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गरेका थिए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको तुलनामा पनि चैतमा अनुत्पादक क्षेत्रको कर्जा बढ्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको आठ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादक क्षेत्रमा प्रवाह गरेको कुल कर्जा ८ खर्ब २१ अर्ब रुपैयाँ थियो । समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

अनुत्पादक क्षेत्रको कर्जा वृद्धिदरमा कमी आए पनि फागुनको तुलनामा चैत महिनामा कुल ५ अर्ब ३ करोड रुपैयाँले वढेको हो । अनुत्पादक क्षेत्र भनेर ओभरड्राफ्ट, घरजग्गा कर्जा, हायरपर्चेज र सेयर मार्जिन कर्जालाइ मानिन्छ ।

अटोमोबाइल तथा घरजग्गा कर्जालाई सरकारले अनुत्पादक क्षेत्र भने पनि यसलाई निजी क्षेत्रले उत्पादनशील क्षेत्रका रूपमा लिइनुपर्ने माग गर्दै आएको छ ।

 

 क्याटेगोरीः