युवाहरुको आह्वान : नेताहरु होसमा आउ, लोकलाज बचाउ !

काठमाडौं, बैशाख १९ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको विरोध सोमबार प्रर्दशन भएको छ । नयाँ शक्ती, साझा पार्टी, विवेकशील नेपाली, सुशासनका लागि नागरिक अभियान, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाललगायतले सडकमै उत्रेर महाअभियोगको विरोध गरेका हुन् ।

माईतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त सभामा नागरिक समाजका अगुवा र विभिन्न राजनीतिक दलसम्बद्ध नेताहरुले महाअभियोगको कदम गैरलोकतान्त्रिक र स्वतन्त्र न्यायालयलाई नियन्त्रण गर्ने कदम भएको बताएका थिए ।

डाक्टर गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिं कार्कीविरुद्ध त्यतिका धेरै विरोधका स्वर उठ्दा पनि कोही सांसद नबोलेको तथ्य सुनाउँदै प्रश्न गरे, ‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोगमा लगाउन भने केही घन्टामै कसरी यतिका धेरै हस्तक्षर जुट्यो ?’ उनले देश हाक्ने दलाललाई जनता मिलेर चुनावबाटै हराउनु पर्ने बताए । समाचार आजको कान्तिपुरमा छापिएको छ ।

साझा पार्टीमा नेता एवं अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश सुशिला कार्कीले लोकमानको निरंकुशतन्त्र विरुद्ध कसरी अडान लिएकी थिईन भनेर बताए । उनले महाअभियोगको पक्षमा उभिएकाहरुलाई दलको नाममा लोकतन्त्रको खोल ओढेर लोकतन्त्रको आधारशिला भत्काउने देशद्रोहीको संज्ञा दिए ।

साझा पार्टीका सर्मथकहरुले भने नेताहरु होसमा आउ । लोक लाज बचाउ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । सुशासनका लागि नागरिक अभियान पनि विरोध प्रर्दशनमा उपस्थित थियो । न्यायालय शासकको इच्छापुर्ती गर्ने थलो होईन, शासकीय स्वेच्छाचारिताको विरोधमा जस्ता प्लेकार्ड बोकेका तन्नेरीहरुले प्रधान्यायाधीशमाथि लगाइएको महाअभियोग राजनीतिक हठ भएको बताएका थिए ।

 

 क्याटेगोरीः