यस्तो छ चुनावी तयारी

काठमाडौं, पुस २७ । निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन आचारसंहितासम्मको तयारी भइरहेको आयोगले जनाएको छ । आयोग तयारीमा जुटे पनि निर्वाचनका लागि आवश्यक ऐन बनेका छैनन् ।

 

दुईवटा कानुन बनेका छन् भने ११ कानुन बन्न बाँकी छन् । निर्वाचन आयोग अपूर्ण छ । संविधानअनुसार पाँच आयुक्त हुने भए पनि अहिले प्रमुख आयुक्तसहित दुईजना मात्रै छन् । आयोगले पूर्णता नपाए पनि काम भइरहेको आयुक्त इला शर्माले बताइन् । स्थानीय तहको निर्वाचन गराउन पाँचवटा ऐन बन्नुपर्ने हुन्छ । संसद्ले सोमबार निर्वाचन कसुर र सजायसम्बन्धी ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित गरेको छ । बाँकी तीन ऐनको विधेयक सरकारले २५ जेठमै संसद्मा दर्ता गराएको छ । राजनीतिक दलसम्बन्धी, निर्वाचन आयोगसम्बन्धी र मतदातासम्बन्धी ऐनको विधेयक संसद्मा दर्ता भएको हो । यी तीन विधेयक अहिले संसद्को राज्य व्यवस्था समितिमा छलफलमा छ ।

प्रदेश र संघको निर्वाचनसँग सम्बन्धित कानुनहरू अहिलेसम्म निर्वाचन आयोगबाट मस्यौदा भएर गृह मन्त्रालयमा पुगेका छैनन् । आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार प्रतिनिधिसभा सदस्यसम्बन्धी र प्रदेश सभा सदस्यसम्बन्धी ऐनको मस्यौदा अन्तिम तयारीमा पुगेका छन् ।

संघ र प्रदेशको निर्वाचन क्षेत्र निर्धारण गर्न गठन गरिने आयोगको ऐन पनि अहिलेसम्म संसद्मा पुगेको छैन । सरकारले पनि आयोग गठन गर्नेबारे छलफल अगाडि बढाएको छैन । कानुन मन्त्रालयले ऐनको प्रारम्भिक मस्यौदा भने तयार गरिसकेको छ।

गोपीनाथ मैनाली, सचिव, निर्वाचन आयोग : निर्वाचन आयोग निर्वाचनको तयारीमा छ । मतदाता नामावली अद्यावधिक गर्ने, मतदाता परिचयपत्र तयार गर्ने, मतदान बाकसको तयारी र निर्वाचन आचारसंहिताका विषयमा आयोग गम्भीरतापूर्वक छलफल र तयारीमा जुटेको छ ।समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

कांग्रेसले पार्टीको अवस्था बुझेर निर्वाचनको रणनीति बनाउन सबै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ । उनीहरूले एक महिनासम्म जिल्लाको अवस्था बुझेर केन्द्रमा प्रतिवेदन बुझाउनेछन् । केन्द्रीय समितिको बैठकले ९ कात्तिकमा सबै जिल्लामा नेताहरू खटाउने निर्णय गरेको थियो । बैठकले भ्रातृ संस्था तथा शुभेच्छुक संस्थालाई पनि चुनावी तयारी र संगठन सुदृढीकरणमा खटाउने निर्णय गरेको थियो । मंसिरको अन्तिममा कांग्रेसले सबै जिल्लामा केन्द्रीय सदस्यलाई पठाएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनकेन्द्रित भएर चारमहिने राष्ट्रिय जागरण अभियान चलाएको छ । निर्वाचन घोषणा भएमा माथिदेखि तलसम्मको पार्टीपंक्तिलाई तत्काल परिचालन गर्ने गरी एमालेले अभियान चलाएको हो । अभियान सुरु भएको दुई महिनामै एमालेले बैठक, भेला, प्रशिक्षण र आमसभासम्मका एकसरो कार्यक्रम गरेको छ । सातवटै प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ र नगर तथा वडा तहसम्म अभियान चलाइएको एमालेले जनाएको छ ।

 क्याटेगोरीः