‘म्याडम, तपाईँको महिनावारी किन हुँदैन ?’

काठमाडौं, पुस २७ । “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो भने विद्यालयभित्र प्रवेश गर्नै पाउनुहुन्न ।
विद्यालय व्यवस्थापनका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘म्याडम, तपाईँको महिनावारी कहिले हुन्छ ? तपाईँको महिनावारी किन हुँदैन ?’ लगायतका अनावश्यक प्रश्न ठड्याइरहन्छन् ।  आफू छ दिनसम्म कक्षा कोठामा प्रवेश नगर्ने हो भने विद्यार्थीको पठनपाठन बिग्रन्छ भन्ने थाहा पाएर झुटो बोल्ने गरेको उहाँ बताउनुहुन्छ ।
अछामका दुई नगरपालिका क्षेत्रमै छाउपडी प्रथा कायम छ भने ग्रामीण क्षेत्रमा यसको उन्मूलन तत्कालका लागि निकै कठिन छ ।  पछिल्लो एक महिनाको अवधिमा दुई छात्राले यसै प्रथाका कारण ज्यान गुमाए तर पनि अभिभावक ‘भगवान् रिसाउँछन्’ भन्ने अन्धविश्वासमा यस प्रथाबाट मुक्त हुन सकेका छैनन् ।
महिनावारी भएको छैटौँ दिनमा चोखिने र भान्सा तथा मन्दिरमा प्रवेशका लागि नौ दिन नै प्रतीक्षा गर्नुपर्ने चलन कायम छ ।  बैठकमा उपस्थित महिला शिक्षकले महिनावारी भएको नवाैं दिनमा घाम अस्ताउने बखत स्नान गरेपछिमात्र महिलाले पूर्णरूपमा शुद्धि प्राप्त गर्ने मान्यता रहेको बताए ।  समाचार आजको गोरखापत्रमा छापिएको छ ।
हुन त केही टोल र गाउँमा सामूहिक छाउगोठ बनाउने चलन चलाइएको पनि छ ।  एउटा छाप्रोलाई गाउँभरिका महिलाले महिनावारीका बखत प्रयोग गर्ने गरेका छन् ।  खालसैनस्थित हिमालय माविका प्रधानाध्यापक नेत्रबहादुर बुढाले सामुदायिक छाउगोठमा एकैपटक छ जनासम्म महिला बस्ने गरेको बताउँदै थप्नुभयो, “देउता रिसाउँछन् भन्ने डरले यस प्रथालाई हत्तपत्त छाड्न चाहेका छैनन् ।  महिनावारीका बेला छात्रा अनुपस्थित हुने प्रवृत्ति नगरपालिका क्षेत्रमा धेरै घटिसकेको छ । ” ऋषिदह–३ स्थित कालिका प्रावि परिसरमा झलालमान्डु मन्दिर छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकका बखत महिला सदस्य महिनावारी भएमा विद्यालय परिसर बाहिरैबाट निर्णयपुस्तिका मगाई हस्ताक्षर गर्ने गरेको सुनाउँदै सो प्राविका प्रधानाध्यापक मीनादेवी बुढाले भन्नुभयो, “मेरो पनि महिनावारी हुन्छ ।  मलाई त अहिलेसम्म यी भगवान्ले केही गरेका छैनन् ।  भगवान्लाई अँगालो हाल्नु भएन, तर मन्दिरको घेराभन्दा बाहिर आएर बस्दिनुस् न भन्दा पनि पर्खालबाहिरै उभिएर हस्ताक्षर गर्न निर्णय पुस्तिका माग्छन् । ”

जिल्ला शिक्षा कार्यालय अछामले पुस ५ गते जिल्लाका सबै विद्यालयलाई अभिभावक भेला गराई उप्रान्त बालिकालाई छाउगोठमा नराख्ने प्रतिबद्धता गराउन लिखित रूपमा निर्देशन दिएको छ ।

 क्याटेगोरीः