मान्छेलाई जिउदै मार्ने रोगबारे वहस


काठमाडौं, साउन १५ । बुढ्यौलीमा लाग्ने अल्जाइमर्स र डिमेन्सिया रोगको भयावह स्थितीबारे अधिकारकर्मीहरु चिन्ता व्यक्त गरेका छन् । राजधानीमा शुक्रवार सम्पन्न सभामा विज्ञहरुले बताएअनुसार नेपालमा ७८ हजार ज्येष्ठ नागरिकहरु यस रोगबाट थला परेका छन् । डिमेन्सीय रिसर्च समूहले जनाए अनुसार सन् २०३० सम्ममा १ लाख ३४ हजार मानिसहरु यसबाट पीडित हुने र २०५० मा यस्ता रोगीहरुको संख्या २ लाख ८५ हजार पुग्ने प्रक्षेपण पनि गरिएको छ ।

अल्जाइमर्सविरुद्ध अभियन्ता तथा होम हर्मिटेजकी प्रर्मिला बज्राचार्यले कार्यक्रममा यस रोगबारे कहालीलाग्दो तस्वीर प्रस्तुत गरेकी थिइन् । उनका अनुसार यो एक मस्तिष्कसम्बन्धी निको नहुने रोग हो । जसले स्मरण क्षमतामा क्षति पु¥याउछ अनि सोच र स्मरण शक्तिलाई ह्रास गराई विरामीलाई विस्तारै “इन्तु न चिन्तु”को अवस्थामा पु-याउछ । त्यसैले अल्जाइमर्स र डिमेन्सीयालाई “मान्छेलाई जिउदै मार्ने“ रोग पनि भन्ने गरिएको हो ।

व्यंग्यविधामा चट्याङ मास्टर नामले परिचित कृष्ण मुरारी गौतमले प्रजातन्त्र पुनःस्थापनापश्चात् गणतन्त्र नेपालसम्म आईपुग्दासमेत समावेशी लोकतन्त्रको खुबै वहस भए। तर, उमेरका आधारमा ज्येष्ठ नागरिकको समावेशिताबारे अधिकारकर्मीहरुसमेत चिन्तित नभएकोमा दुखेसो पोखे । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चट्याङ मास्टरले जीवनको उत्तरार्धमा सन्तान र स्याहरसुसारको आवश्यकता बढी पर्छ । तर, य्वा पुस्ता विदेशिन वाध्य भएको अहिलेको अवस्थामा ज्येष्ठ नागरिकहरुको समस्या अरु गम्भीर बन्दै गएको उनको भनाई थियो ।

alzimers_awareness

प्रत्येक चार सेकेन्डमा एक यस्तो नयाँ विरामी देखा परेको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठनको २०१२ को प्रतिवेदनमा डिमेन्सीय जनस्वास्थ्यको प्राथमिकतामा परेको प्रष्ट पारेको छ । हरेक वर्ष ७७ लाख मानिसहरु यस रोगले थला पार्ने गरेको छ ।

प्रजनन् दरमा कमी र सरदर आयुमा आएको बढोत्तरीका कारण ज्येष्ठ नागरिकहरुको जनसख्या तीव्र गतिमा बढिरहेको छ । तर, सन्तान विदेशिएका कारण विशेष स्याहारको अभावमा यस्ता विरामीहरु सकसपूर्ण जीवन गुजार्नु परेको छ । यसतर्फ सरकारले अविलम्ब ध्यान दिन अभियन्ताहरुले आवाज उठाउन थालेका छन् ।

वेलायतस्थित प्रसिद्ध पत्रिका दि सन्डे टाइम्सको २८ जुलाईको संस्करणमा अल्जाइमर्सविरुद्धको ओखती पत्ता लागेको खबर आए पनि नेपालका सन्दर्भमा यसबारे वृहत जनचेतना जगाउन आवश्यक रहेको सहभागीहरुले बताए ।

 क्याटेगोरीः स्वास्थ्य