महिला उम्मेदवार श्रीमानबाटै कुटीइन्

काठमाडौं, बैशाख २९ । उम्मेदवारी फिर्ता नगरेको भन्दै कास्कीकी एक महिला उम्मेदवार श्रीमानबाट निर्घात कुटीएकी छन् । रुपा गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रबाट महिला सदस्यको उम्मेदवार बनेकी पद्मा खड्का गुरुङलाई बुधबार राति उनका श्रीमान यामबहादुर गुरुङले कुटपिट गरेका हुन् ।

कुटपिटबाट सख्त घाइते भएकी खड्कालाई पोखराको फेवा सिटी अस्पतालमा भर्ना गरिएको छ । श्रीमानले बाँसको चिरपटले टाउको, ढाड र हातमा प्रहार गरेको उनले बताइन् । कुटपिटबाट पद्माको दाहिने हात भाँचिएको छ । उनको टाउकोमा समेत ४ वटा टाँका लगाइएको छ । हातको हड्डी नै भाँचिएकोले शल्यक्रिया गरेर स्टिल राख्नुपर्ने अस्पतालका चिकित्सकले बताएका छन् ।

खड्काका जेठाजु टेकबहादुर गुरुङ एमालेबाट वडाअध्यक्षको उम्मेदवार हुन् । उनले जेठाजुकै निर्देशनमा कुटपिट भएको आरोप लगाइन् । खड्काका श्रीमान पोखराको टुकी रिसोर्टमा सुरक्षा गार्डको काम गर्छन् । आफू माओवादी केन्द्रबाट उम्मेदवार बनेपछि जेठाजुले भाइलाई बोलाएर कुट्न लगाएको उनले बताइन् ।समाचार आजको कान्तिपुरमा छापिएको छ ।

‘श्रीमानले पहिलेदेखि नै उम्मेदवारी फिर्ता लिन धम्की दिनुहुन्थ्यो,’ उनले भनिन्, ‘मैले तपाईं दाइलाई जिताउन लाग्नुस् म आफैं लड्छु भनेकी थिएँ ।’

खड्काले बुधबार दिउँसो सासुससुराको घरमा पुजाको बेला श्रीमान–श्रीमतीबीच उम्मेदवारीकै विषयमा खटपट परेपछि घरमा आएर घाँटी थिचेर मार्ने प्रयास गरेको बताइन् । ‘पुजामा मैले मेरो प्रचार गरिरहेको थिएँ,’ घाँटीमा औंलाको डाम देखाउँदै उनले भनिन्, ‘श्रीमानले देखि सहेनन् ।’ उनले हातको शल्यक्रिया गर्ने वित्तिकै गाउँमा गएर चुनावमा खटिने  बताइन् ।

 

 क्याटेगोरीः