मतदाता सोध्छन्– दोस्रो किस्ता कहिले पाइन्छ ?

काठमाडौं, बैशाख २५ ।गोलन्जोर गाउँपालिका–७ राताटारवासी चार वर्षदेखि लगातारका विपत्तिले उठ्नै नसक्ने गरी थलिएका छन् । वर्ष दिनअघिको आगलागीमा सखाप भएको बस्ती जेनतेन उठदै थियो, शक्तिशाली भूकम्पले फेरि उस्तै गरी ढालिदियो । टहरामा गुजारा चलाइरहेका गाउँलेलाई स्थानीय तहको चुनावले खासै छुन सकेको देखिँदैन । विभिन्न दलका उम्मेदवार भोट माग्दै गाउँ–गाउँ पुगिरहेका छन् । उम्मेदवारलाई स्थानीय एउटै प्रश्न सोध्छन्, घर बनाउन दोस्रो किस्ता रकम कहिले दिने ?

वर्ष दिनकै बीच दुई ठूला–ठूला विपत्तिले थलिएका उनीहरू आफ्नो गाउँलाई दशाले घरेको बताउँछन् । २०७० चैत २८ गते आगलागी हुँदा गाउँका २२ मध्ये १३ घर जलेर स्वाहा भए । ओत लाग्ने छानो त के, भाँडाकुँडा, लत्ताकपडा केही बचेन । सबै मिलेर रातारात फेरि गाँसबासको जोहो गरे, घर पनि बनाए । विपत्तिको शृंखला भने त्यत्तिमै रोकिएन । २०७२ वैशाख १२ गते अर्काे विपत्ति बनेर भूकम्प गयो । दु:खजिलो गरेर ठडयाइएका सबै घर गल्र्यामगुर्लुम्म ढले । २२ घरमध्ये अहिलेसम्म पाँचवटाको मात्रै पुनर्निर्माण सकिएको छ ।

भूकम्पपीडित क्षेत्रका अधिकांश गाउँमा पुनर्निर्माणको कामले आंशिक मात्र गति लिएको छ । पहिलो किस्ताबापतको रकम पाएकाहरूले पनि जग निर्माण थालेका छैनन् । घर बनाइसकेकाहरू पनि दोस्रो किस्ताबापतको रकम कहिले आउने हो भन्ने अन्योलमै छ । समरबहादुर सार्कीले पुनर्निर्माण प्राधिकरणले भनजस्तै गरेर गत फागुनमै भूकम्पप्रतिरोधी घर निर्माण सम्पन्न गरे । प्राधिकरणले खटाएको प्राविधिक टोलीले पनि उनको घर प्राविधिक जाँच सम्पन्न गरिसक्यो । तर अहिलेसम्म उनले दोस्रो किस्ता पाएका छैनन् ।

उनले घर बनाउनै २४ प्रतिशत ब्याजदरमा डेढ लाख रुपैयाँ ऋण लिएका छन् । सरकारले दोस्रो किस्ता दिए तिरौंला भन्ने उनको सोच छ ।

भोट माग्न गाउँ पसेका प्रत्येक उम्मेदवारलाई उनले दोस्रो किस्ताबापतको रकम कहिले पाइन्छ भनेर सोध्ने गरेका छन् ।  समाचार आजको कान्तिपुरमा छापिएको छ ।

सानो टहरोमा गुजारा चलाइरहेका कमल राईले भने सरकारले दिएको पहिलो किस्ताबापतको रकम साँचेर राखेका छन् । घर बनाएकाहरूले पनि दोस्रो किस्ताबापतको रकम नपाएको देखेर उनले घर बनाउने काम थालेकै छैनन् । समरले जस्तै उनले पनि प्रत्येक उम्मेदवारलाई दोस्रो किस्ताबापतको रकम कहिले पाइन्छ भनेर सोध्ने गरेका छन् तर कसैले पनि उनलाई चित्तबुझदो उत्तर दिएका छैनन् ।

भूकम्पपीडित गाउँलेको चासो राहत रकमको दोस्रो किस्ता कहिले पाइन्छ, गाउँमा कर्मी कसरी जुटाउने र वन कार्यालयबाट काठ कसरी सुलभ मूल्यमा प्राप्त गर्ने भन्ने छ । तर अधिकांश उम्मेदवारले भने गाउँलेको तत्कालको चासोभन्दा फरक विषयलाई चुनावी नारा बनाएका छन् ।

 क्याटेगोरीः