भारतीयद्वारा किर्ते गरी नेपाली नागरिकता र राहदानी

नागरिकताको प्रमाणीकरणमा चुस्तता नहुँदा पनि यो समस्या

काठमाडौं, पुस २२ । दुबईस्थित विमानस्थलबाट डिपोर्ट भएकी काउलीमाया चेपाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखाले पक्राउ गर्‍यो २१ मंसिरमा । काठमाडौंबाट दिल्ली हुँदै दुबई गएकी काउलीमाया पक्राउको कारण जति अनौठो थियो, त्यति नै अनौठो थियो, उनका प्रवास यात्राको अन्तर्य पनि ।

अध्यागमन कर्मचारीले लोथर, मकवानपुर ठेगाना भएको उनको राहदानीमाथि गरेको शंका त्यति बेला सही ठहरियो, जति बेला उनले आफ्नो वास्तविकता बताइन् । काउलीमायाको बयानले अध्यागमनका अधिकारीलाई मात्रै अचम्ममा पारेन, नक्कली मेसिन रिडेबल पासपोर्ट बनाउने गिरोहको फन्दामा उनी परेको रहस्यसमेत खुल्यो । नेपालमा रहेर केही भारती र बंगालीले यस्तो राहदानी बनाएर विदेश जाने गरेको घटना पटकपटक सार्वजनिक हुँदा पनि सचेतना अझ देखाइएको छैन ।

अध्यागमनका अधिकारीले सुरुमा काउलीमायालाई सोध्यो, ‘तपाईं कहाँको चेपाङ ?’ अनायासै सोधिएको जवाफमा काउलीमायाले उत्तर दिइन्– दार्जिलिङको । त्यसपछि थाहा भयो, दार्जलिङ घर भएकी कमला क्षेत्रीले काउलीमाया चेपाङको नक्कली नाममा राहदानी बनाएकी रहिछन् । १८ माघ २०७१ मा जारी भएको ०८४४५४४५ नम्बरको राहदानीमा श्रीमानको नाम मैलबहादुर चेपाङ लेखिएको छ । अध्यागमनले जाली राहदानी प्रयोगको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयमा १४ पुसमा काउलीमायाको मुद्दा पेस गर्‍यो । जसमाथि १७ पुसमा काठमाडौं जिल्ला अदालतले फैसला सुनायो । जिल्ला अदालतले काउलीलाई ४ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला सुनायो । काउली जरिवाना तिरेर मुक्त भइन् । सायद यति बेला उनी आफ्नो घर पुगिसकिन् होला । समाचार आजको कान्तिपुरमा छापिएको छ ।

अर्का देशको नागरिक नेपालको राहदानी बोकेर विदेश पुगेर फर्कने क्रममा उनी पक्राउ परेकी हुन् । उनी जस्ता धेरैले यसरी नागरिकता नक्कली बनाएर राहदानी लिएको हुन सक्ने अनुमान विभागको छ ।

अध्यागमनका उपल्ला अधिकारीहरू काउलीमायाको नाममा बनाइएको नक्कली नागरिकता र त्यही नागरिकताका आधारमा जारी गरिएको राहदानीका कारण घटना भएको आशंका गर्छन् । यसैले नागरिकताको प्रमाणीकरणमा चुस्तता नहुँदा पनि यो समस्या आएको हो । नागरिकता छानबिन गर्ने काम आवेदन परेपछि परराष्ट्र मन्त्रालयको विभाग र गृहको जिल्लाबीच समन्वय भएर चेक जाँच नहुँदासम्म समस्या रहिरहन्छ ।
अक्सर नक्कली नाम वा राष्ट्रियताका आधारमा जारी भएका राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागले खारेज गर्छ ।

तर काउलीमायाको नाममा बनाइएको राहदानीबारे विभाग बिहीबारसम्म जानाकार छैन । जसले नक्कली राहदानी कसरी तयार भयो र त्यसमा कहाँकहाँबाट त्रुटि भयो भन्ने अनुसन्धान हुन सकेको छैन । परराष्ट्र अधिकारीका अनुसार खोजीले नक्कली प्रमाणित भएर जरिवानासमेत भएको अवस्थामा नागरिकता प्रमाणीकरण कसरी भयो र राहदानी जारी भयो भन्नेमा खोजी हुन आवश्यक छ । ‘नागरिकता वा कसैलाई दोष दिने र पन्छिने कार्य विभागले गर्दैन, कहाँ कसको त्रुटि हो यो खोजी गर्नेछ,’ राहदानी विभागका महानिर्देशक सुशील लम्सालले भने, ‘अहिलेसम्म जानकारीमा आएको छैन । तर अब राहदानी नम्बरसहित नाम पाए । यसको यथार्थ बुझ्छु । कहाँबाट कसरी जारी भएको हो खोजी हुन्छ ।’

 

 क्याटेगोरीः