बालकथा संग्रह विमोचन


इसमता संवाददाता
कठमाडौं, मंसिर २५ । नेवार भाषामा बालकथाको अभाव भइरहेकाेमा मीना वज्राचार्यद्वारा लिखित “झी मस्त झीगु बाखं” बालकथा संग्रहको आज एक समारोहका बिचमा विमोचन भयो ।

विमोचनका अवसरमा नेपालभाषा आन्दोनका अभियन्ता नरेशवीर शाक्यले नेपालभाषा साहित्यको फाँट जतिसुकै पुरानो र ठुलो भएपनि राज्यको सरकारी भाषा बाहेक अन्य भाषालाई दमन गर्ने नीतिले गर्दा मानिसहरुमा मातृभाषाको जगेर्ना गर्न गाह्रो हुँदै गइरहेको बताए ।

स्कुलमा नेपालभाषा पढाउने अभियानका अभियन्ता दीपक तुलाधरले जबसम्म काठमाडौं उपत्यकामा रहेका स्कुलमा नेपालभाषा पढाउनु पर्ने प्रावधान बन्दैन तबसम्म नेपालभाषका साहित्य जतिसुकै स्तरीय भएपनि पाठकको कमि रहने बताए ।

तय्जु प्रकाशनका शीला साय्मिले आफुले एक जना महिलाले र त्यसमा पनि बालकथा लेख्दै गरेको देखेर आफुले सक्दो सहयोग गरेको र अब यसलाई बजारमा पुर्याउन र घरघरमा आफ्ना छोराछोरीले पढ्ने वातावरण बनाउन सबैको सहयोग आवश्य रहेको बताए ।

साथै उक्त कार्यक्रममा पुस्तक प्रकाशनका सहयोग पुर्याउने अरविन्द्रमान सिंह र सम्यक मानन्धरलाई सम्मान पनि गरियो । कार्यक्रम नेपालभाषा स्यनेकने पुचःको आयोजनामा सम्पन्न भएको थियो ।

 क्याटेगोरीः कला साहित्य