बाढीपहिरोले देशभर कम्तीमा ३० जनाको मृत्यु ; जनजीवन कष्टपूर्ण

– तराईको लाइफलाइन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
– विराटनगर, इटहरी, विर्तामोड, भद्रपुर, इनरुवा, राजविराज, जनकपुर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज जलमग्न
– अधिकांश विमानस्थल जलमग्न हुँदा हवाई उडान अवरुद्ध
– उद्धारमा गएको हेलिकोप्टर अवतरण गर्नै सकेन

 

पत्रपत्रिकाबाट
काठमाडौं, साउन २९ ।देशभर परेको अविरल वर्षापछि आएको बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको छ भने २० जना बेपत्ता भएका छन् । बिहीबारदेखि लगातार परेको पानीले पूर्वमा झापादेखि पश्चिम बर्दियासम्मको तराईको अधिकांश भूभाग जलमग्न भएका छन् । पहाडी क्षेत्रमा पहिरो जाँदा जनधनको क्षति भएको छ । तराईको लाइफलाइन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा परी शनिबार सुनसरीमा सात जनाको मृत्यु भएको छ भने झापा र सिन्धुली तथा बाँकेमा चार-चार जनाको ज्यान गएको छ । पाँचथर, मोरङमा तीन-तीन जनाले ज्यान गुमाएका छन् भने सर्लाही, बारा, दाङ, पाल्पा र बर्दियामा एक-एक जनाको मृत्यु भएको छ ।
तराई क्षेत्रका सहर विराटनगर, इटहरी, विर्तामोड, भद्रपुर, इनरुवा, राजविराज, जनकपुर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्जसहित सहर जलमग्न भएका छन् । तराई क्षेत्रका अधिकांश विमानस्थल जलमग्न भएका कारण हवाई उडान रोकिएका छन् ।

 

सुनसरीको इटहरी उपमहानगरपालिकाको बूढीखोलामा ठूलो बाढी आएपछि खोला किनारमा बसोबास गर्ने सुकुम्बासी टोलका बासिन्दाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरीकै मलिकटोल र गैरीगाउँका हुन् । पहिरोले घर पुरिँदा मोरङको लेटाङ नगरपालिका-१ मा शनिबार बिहान ४० वर्षीय गोपीमाया तामाङको मृत्यु भएको छ । घरमै रहेका गोपीमायाका सासू ९० वर्षीय टुलकीमाया, पति ५० वर्षीय टंक र १० वर्षीय छोरीलाई भने स्थानीयले सकुशल उद्धार गरेका छन् । त्यस्तै, लोहन्द्रा खोलाले बगाउँदा केराबारी गाउँपालिका-९ कुसुमेका ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको छ । नुनसरी बक्राहा खोलामा आएको बाढीले बगाएर मिक्लाजुङ-२ का ३२ वर्षीय गंगाराम खतिवडाको मृत्यु भएको छ । समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

मोरङकै सुन्दरहरैंचा नगरपालिका-४ स्थित बूढीखोलामा आएको बाढीले बगाएर तीन वृद्धा बेपत्ता भएको भनिए पनि प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालका अनुसार सुन्दरहरैंचा-४ की ६३ वर्षीय सावित्रा थापा मगर, संखुवासभा मादीकी ६३ लीला दाहाल र झापा झिलझिलेका ८० वर्षीय गोविन्द कार्कीलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।
झापाका अधिकांश क्षेत्र डुबानका छन् । शनिबार राति ९ बजे मैनाचुलीमा कन्काई नदीको जलसतह ५.५ मिलिमिटर पुगेको थियो । ४.२ खतराको स्तर हो । कोरोबारी, कुमरखोद, पाठामारी, विर्तामोड, अर्जुनधारा, शनिश्चरेलगायत क्षेत्र डुबानमा परेको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ ।

 क्याटेगोरीः