बाटोमै हराउँछ दुर्गमको औषधि

काठमाडौं, पुस २८ । सरकारले विपन्न जनताको उपचारमा सहज होस् भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरे पनि बीच बाटामै गायब हुने गरेको पाइएको छ। औषधि नियमित नपुग्दा मुगु, कालिकोट, रुकुम, डोटीलगायत जिल्लाका दुर्गम भेगका जनता बिरामी भएको बेलामा  चर्को मूल्य तिर्न बाध्य छन्।

जिल्ला स्वास्थ्य कार्यालयले पठाएको औषधि यातायातको सुविधा नभएका गाउँमा पुर्‍याउन समस्या भएको मुगु, खत्याडका रतनबहादुर शाही बताउँछन्। उनी भन्छन्, ‘गाउँमा जहिल्यै औषधिको चरम अभाव हुन्छ, सरकारले उपलब्ध गराएको निःशुल्क औषधि त्यहाँ बिरलै पुग्ने गर्छ।’ जिमाको सोरुकोट, नाथर्पु, थोतु, भीई, कालाईरारा, धैनकोटलगायत मुगु सदरमुकाम गमगढीबाट उत्तरी क्षेत्रका गाविसमा औषधि नपुग्ने समस्या देखिएको छ। सेरीकोट, गम्था, खमाले, कोटडाँडा, याङ्लु, सुकाढीकलगायत मुगुको पश्चिम क्षेत्रका गाउँमा नियमित औषधि नपुग्ने समस्या छ।

खत्याडका शाहीका अनुसार त्यस भेगका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव छ। त्यहाँका सात स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्य केन्द्रमा सिटामोलसमेत छैन।  जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाइरहेको विवरण दिए पनि गाउँमा अभाव हुनुले  बीचबाटै हराएको सरोकारवाला बताउँछन्। समाचार आजको नागरिकमा छापिएको छ ।

गत भदौ अन्तिम साता गमढीबाट दुई दिनको पैदल दूरीमा रहेको मुगु गाविसको स्वास्थ्य चौकीका लागि जिल्ला स्वास्थ्यले पठाएको औषधि बाटामै सिधिएको थियो। स्वास्थ्य चौकीका कार्यालय सहयोगी जानबहादुर हितानका अनुसार जिल्ला स्वास्थ्य कार्यालयबाट पठाएको औषधि मुगु गाविसको सिसनीचौर तथा मांग्री गाविसको रियुसबजारमा बाँड्दा बाँड्दै सकिएको थियो। उक्त स्वास्थ्य चौकीमा एक एचए, दुई अहेव र एक कार्यालय सहयोगीको दरबन्दी भए पनि एचए र एक अहेव अध्ययन बिदामा छन्। अर्का अहेव हिमाछिरिङ लामा गमगढी आफ्नो पसल गरेर बसेका छन्। उनी कहिल्यै मुगु स्वास्थ्य चौकी जाँदैनन्।

जिल्ला स्वास्थ्य कार्यालय, मुगुका स्टोरकिपर प्रेमबहादुर रावत पछिल्लोपटक  विभिन्न गाउँका स्वास्थ्य चौकीमा मागअनुसार औषधि पठाइएको बताउँछन्। ‘म जिल्ल्ाा स्वास्थ्यमा आएपछि पाँच महिनायता गाउँका स्वास्थ्य चौकीमा नियमित औषधी पठाउने काम भइरहेको छ, त्यसअघिकोे बारेमा मलाई जानकारी भएन,’ रावतले भने।

बारम्बार गुनासो आइरहेपछि जिल्ला स्वास्थ्य कार्यालयले पठाइएका औषधि सम्बन्धित ठाउँमा किन पुगेन भनी सोधखोज थालेको जनाएको छ। जिल्ला स्वास्थ्य प्रमुख डा. सरोज अधिकारी सदरमुकामबाट ग्रामीण क्षेत्रका लागि पठाइएको औषधि कहाँ गयो भन्ने पत्ता लगाउन अनुसन्धान भइरहेको बताउँछन्।

 क्याटेगोरीः