बहसमा पप्पी फूल

इसमता संवाददाता
काठमाडौं, बैशाख ४ । काङमाङ नरेश राईकृत कविता संग्रह ‘पप्पी फूल’माथि बहस भएको छ । सोमबार राजधानीमा आयोजित कृतिको विमोचन समारोहसँगै यसमाथि बहस गरिएको हो ।
विमोचनपश्चात पत्रकार, लेखक दीपक सापकाले सहजीकरण गरेको विमर्श कार्यक्रममा बोल्दै कवि भूपाल राईले युद्धको ‘आइडियोलोजी’ आफू बाँच्नु रहेको बताए । ‘युद्धको रुप र आयाम फरिन्छ, तर कुनै न कुनै रुपमा युद्ध भइरहेकै हुन्छ’ राईले भने । उनले समकालीन नेपाली कविताको दुनियाँमा नरेशका कविता नयाँ विषय भएको बताए । साथै उनले नेपालमै पनि दश वर्षे जनयुद्धपछि आख्यानको तुलनामा कविता कम सिर्जना भएको स्वीकार गरे ।
आख्यानकार युग पाठकले भने युद्ध ‘कम्फर्ट जोन’मा रहँदा परेवा उडाएर बस्नेहरुले युद्धलाई घृणा गर्ने बताउँदै युद्धलाई निरपेक्ष रुपमा हेर्न नहुने तर्क अघि सारेका थिए । उनले युद्धका बारेमा निश्चिन्त भएर लेख्न नसकिने पनि बताएका थिए । त्यसैगरी ब्रिटीश आर्मीहरुका बारेमा बोल्दै पाठकले भने, ‘विश्वयुद्धहरुमा संसारका सबै स्रोतसाधन प्रयोग गरिए । त्यसमध्य गोर्खा सिपाही पनि हो ।’

पाठकले पहिलो विश्व युद्धपश्चात नेपाल फर्किएपछि लाहुरेहरुले नेपाली समाजलाई नयाँ ढंगले अगाडि बढाएको बताउँदै दोस्रो विश्वयुद्धको अन्त्यसम्म आइपुग्दा राणा शासनलाई नै ढल्नुपर्ने स्थितिमा पु¥याएको बताए ।
त्यसैगरी कार्यक्रममा आख्यानकार प्रगति राईले गाउँको क्यान्भासबाट लामो समय हराएको मान्छे वर्षौंपछि कवि भएर आएको र उनका कविताले लाहुर नजान सुझाएको हो कि भन्ने दृष्टिकोण व्यक्त गरेको बताइन् ।

पहिचानको पक्षमा वकालत गर्दै आएका काङमाङ नरेश राईले युद्ध साहित्य पनि पहिचानकै आन्दोलन रहेको बताए । लाहुरेहरुको प्रत्येक पल्टनमा मन्दिर हुनुपर्ने, त्यसका लागि पूजारी पण्डित पठाइनुपर्ने र हिन्दुका विरुद्ध उनीहरुले विद्रोह गर्न नपाउने व्यवस्था गरिएको भन्दै उनले युद्ध ध्वंस मात्रै नभएर निर्माण पनि भएको बताए ।

संग्रहको नाम ‘पप्पी फूल’ राख्नुको कारण खोतल्दै यूरापको केन्द्रविन्दु मानिने मेनिन गेटमा धेरै गोर्खालीहरुको नाम लेखिएको, तर उनीहरुको पहिचान नेपाली नभएको उल्लेख काङमाङले उल्लेख गरे ।
युद्धसँग मात्रै सम्बन्धित काङमाङको कविता कृतिलाई चिन्डो बुक्सले बजारमा ल्याएको हो ।

 क्याटेगोरीः कला साहित्य