बन्द उद्योग खोल्न सरकारले सहयोग गर्ने

चितवन, ९ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका निजी उद्योग खोल्न सरकारले पहल थालेको बताएको छ ।

नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारीसँगै बन्द भएका निजी उद्योग खोल्नसके उत्पादनसँगै रोजगारीका अवसर दिलाउन सकिने बताउँदै नीतिगतरुपमा देखिएका अप्ठ्यारा फुकाउने र औद्योगिक विकासका लागि अघि बढ्ने काम सरकारले गरिरहेको बताए ।

निजी उद्योग के–कति कारणले बन्द भएका हुन् सञ्चालकसँग छलफल भइरहेको बताउँदै मन्त्री जोशीले सरकारी तवरबाट हुने सहयोगले उद्योग पुनःसञ्चालन गर्न सकिन्छ भने सरकार सहयोगका लागि तयार रहेको बताए ।

यसैगरी चितवन उद्योग सङ्घको १७ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री जोशीले मालिक र मजदुरबीचमा सम्बन्ध राम्रो बन्न नसक्दा नेपालका उद्योगमा समस्या उत्पन्न भएको बताएको छ ।

चितवन जिल्लामा औद्योगिक क्षेत्र निर्माणका लागि आफू फर्किएलगत्तै अध्ययन टोली पठाएर काम सुरु गर्ने उनको भनाइ थियो ।

रासस

 क्याटेगोरीः अर्थ