पुरानै निर्वाचन क्षेत्र कायम राख्ने कुरा अमान्य


इसमता संवाददाता
काठमाडौं, साउन १ । राज्यको पुनर्संरचनामा प्रवेश गरिसकेर स्थानीय तहको निर्वाचन समेत भइसकेको अवस्थामा फेरी उही पुरानै संसदीय निर्वाचन क्षेत्र कायम राख्ने भन्ने विषषप्रति संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालले आपत्ति जनाएको छ ।

यो कुनै पनि हालतमा पुरानै निर्वाचन क्षेत्र कायम राख्ने कुरा हामीलाई मान्य हुने छैन । यसले संघीयता र समावेशिता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई प्रतिकूल असर गर्ने भएकाले तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गरियोस्, दुबै पार्टीले आज जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।
साथै संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थमा फेरी संघीयता व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्ने भएकोले प्रदेशको चुनाव पहिले नै गरियोस् भन्ने पनि माग गरिएको छ ।
दुबै पार्टीले नेपाली जनताले लामो संघर्ष गरेर प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरेपक्षता, समावेशिता आदिजस्ता विषयलाई नकारात्मक प्रभाव पार्ने र उल्ट्याउन खोज्ने कुनै पनि गतिविधि हामीलाई स्वीकार्य हुने छैन भन्दै भनिएको छ — “हामीले पहिले देखिनै तीन वटै निर्वाचन एकै चरणमा हुनु पर्ने विषय उठाउँदै आएको सर्वविदितै छ, तर पनि पहिले स्थानीय तहको निर्वाचन गरियो । स्थानीय तहको निर्वाचन पछि स्वतः प्रदेशको चुनाव सम्पन्न गर्नु नै सान्दर्भिक र उपयुक्त हुनेछ । ”
विज्ञप्तिमा सदनमा समेत टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरी टुंग्याएर मात्रै अगामी निर्वाचनहरुका लागि सहज वातावरण बन्नेछ र अन्यथा, सो विषयले गम्भीर राजनीतिक संकट ल्याउन सक्ने चेतावनी पनि दिइएको छ ।

 क्याटेगोरीः राजनीति