पार्टी फेर्दै, उम्मेदवार बन्दै

काठमाडौं, बैशाख २६ । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाकी दुर्गा नेपालले लामो समय एमाले राजनीति गरिन्। सोही हैसियतमा उनले गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार दाबी पार्टीसँग गरिन्। त्यो नदिने देखिएपछि उनले वडाध्यक्षमा अडान् राखिन्। पार्टीले त्यो पनि पत्याएन। उनी सुटुक्क माओवादी केन्द्र छिरिन्। धेरै गाविस समेटर बनेको गाउँपालिकामा जात र भेग मिलाउन केन्द्र उपयुक्त उम्मेदवारको खोजीमा थियो।

केन्द्रबाट उपाध्यक्षमा उम्मेदवारी मनोनयन दिएर उनले सबैलाई छक्क पारिन्। केन्द्रले ‘भने जस्तो’ उम्मेदवार भेट्टायो, नेपालले चाहेको पद पाइन्। कुनै समय माओवादीको नाम सुन्नसम्म नचाहने उनी सातादेखि पूर्वपार्टी एमालेलाई टक्कर दिन आफूलाई मत मागिरहेकी छन्।

लिसंखुपाखर गाउँपालिकाकी उर्मिला लामा चल्दोपुर्दो कांग्रेसी कार्यकर्ता हुन्। लामो समय कांग्रेसमा दुःख गरेर उनले यस क्षेत्रमा नेताकै हैसियत बनाएकी थिइन्। तर चुनावको अन्तिम घडीमा उनले राजनीतिक परिचय बदलिन्। राजा फाल्ने पार्टी छोडेर राजतन्त्र ‘पाल्ने’ पूर्वपञ्चको पार्टी राप्रपा छिरिन्। राप्रपाबाट उक्त पालिकाको उपाध्यक्ष उम्मेदवार बनेकी उनी अहिले गाई चिह्न अंकित झन्डा बोकेर घरदैलोमा व्यस्त छिन्। उम्मेदवारको प्रस्ताव आएपछि उनी राप्रपा छिरेकी थिइन्।

 राजनीतिक परिचय बदल्ने क्रममा कांग्रेस नेता बुद्धराज बस्नेत अझ रोमाञ्चक देखिए। कांग्रेस जिल्ला समिति सदस्य उनी बाह्रबिसे गाउँपालिकामा माओवादी केन्द्र–राप्रपा गठबन्धनबाट मेयरको उम्मेदवार बनेका छन्। मनोनयनको दुई दिनअघिसम्म उनी कांग्रेसबाट टिकट दाबी गरिरहेका थिए। पार्टीले क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई टिकट दिएपछि बस्नेतले चित्त दुखाए।  समाचार आजको नागरिकमा छापिएको छ ।

सरासर काठमाडौं पुगेका उनले केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालबाट साधरण सदस्य लिए। र, उनकै हातबाट टीकाअबिर गरेर माओवादी छिरे। पार्टी बदलेको २४ घन्टामै उनले मेयरको टिकट हात पारे। मनोनयनपत्र दर्ता गर्नुअघिसम्म यसबारे कसैले सुइँकै पाएनन्। ‘कामको मूल्यांकन त के जति दुःख गरे पनि पार्टीले दबाएरै सिध्याउन खोजेपछि त्यहीं (कांग्रेसमा) बस्न सकिएन,’ गोलाकारभित्रको हँसियाहथौडा चिह्न अंकित रातो कफन बाँधेर भोट मागिरहेका उनले नागरिकसँग भने।

बस्नेत कांग्रेस केन्द्रीय सदस्य तथा सभासद् मोहनबहादुर बस्नेतको परिवारका सदस्य छन्। कांग्रेसबाट टिकट पाएका बालकृष्ण उनका एकैखलकका भाइ हुन्। जति सहयोग र दुःख गरे पनि दाजु (मोहन) ले सहयोगको साटो लाद्दै आएको गुनासो गर्थे उनी। कांग्रेसको पछिल्लो अधिवेशनमा उनी क्षेत्रीय सभापति बन्न चाहन्थे। तर तत्कालीन पार्टी सभापति मोहनबहादुरले बुद्धराज छोडेर बालकृष्णकै काखी च्यापे।

 क्याटेगोरीः