न्युयोर्कमा साकेला उभौली रौनक 


मनु लोहोरूङ राई

काठमाडौं, पुस १५ । किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण यो बर्ष पनि भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत डिसेम्बर २३ तारिख न्यूयोर्कको अस्टोरियास्थित सर्कुलो स्पानोलको सभाकक्षमा सम्पन्न भएको थियो । 

किरात राई सोसाईटी अफ अमेरिका न्यूयोर्क च्याप्टरकी अध्यक्ष भारती राईको सभापतित्वमा आयोजित उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईवा तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै फिप्नाका अध्यक्ष वाईवाले किरात समुदायले मौलिक एवं परम्परागत रुपमा मनाउँदै आएको चाड पर्व र रीतिरिवाजलाई प्रत्येक बर्ष संस्थागत रुपमा प्रमुखताका साथ मनाउँदै आएकोमा संस्थाको नियमित कार्यक्रम र निरन्तरताको बारेमा खुलेर प्रशंसा गरे । 

कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष चन्द्र कुमार राईले प्रवासमा मौलिक कला, भाषा र संस्कृति संरक्षणसँगै संस्था स्थापनाकालदेखि नै बिभिन्न सामाजिक सेवा र अन्य क्षेत्रमा काम गर्दै आएको बताए । सोहि कार्यक्रममा संस्थाका बोर्ड चेयर प्रमोद थुलुङले सुम्निमा साँझ जस्ता सांस्कृतिक कार्यक्रमको आयोजनाले संस्थागत नेतृत्व र व्यत्तित्व विकासमा टेवा पुग्ने बताए। 

उक्त कार्यक्रममा उधौंली पर्वको अवसरमा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो। सम्मानित खालिङ विगत दुई दशकदेखि नेपाली संगीतमा क्रियाशील व्यक्तित्व हुन् । संगीत निर्देशन र संगीत संयोजनमा अब्बल मानिने खालिङ कुशल गायक र गीतकार समेत हुन् । उनी केहि बर्षदेखि अमेरिकाको साउथ डाकोटा राज्यमा सपरिवार बसोबास गर्दै आएकाछन् ।

त्यस्तै सम्मानकै क्रममा गत में २२ तारिख न्यूयोर्कमा आयोजित प्रथम् नेपाल डे परेडको मुख्य आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई सफल कार्यसम्पादन गरेकोमा बिशेष सम्मान गरिएको थियो । उक्त ऐतिहासिक कार्यक्रममा संस्थाका अध्यक्ष लुईसाङ वाईवा तामाङको कुशल नेतृत्व र संस्थागत सहकार्यको प्रशंसा गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजक संस्थाले बताए। 

कार्यक्रम मनु लोहोरुङ राईको संयोजकत्वमा सम्पन्न भएको थियो । संयोजक राईले सुम्निमा साँझको आयोजना र यसको संस्कृतिक महत्वको बारेमा मन्तव्य राखेकी थिईन्। कार्यक्रम उदघाटन समारोह र सांस्कृतिक समारोह गरी दुई चरणमा गरिएको थियो। प्रमुख अतिथिबाट पानसमा बत्ती बाली कार्यक्रम उदघाटन गरिएको थियो भने दोस्रो चरणको कार्यक्रम  बिभिन्न कलाकारहरूले गीत र नृत्यहरू प्रस्तुत गरेरका थिए । सांस्कृतिक समारोह किरातीहरूको मौलिक नाच ‘साकेला शिली नाच’बाट शुरू गरिएको थियो। शैली नाच प्रस्तुत गर्ने कलाकारहरूमा अग्नी प्रसाद राई, अनु वान्तवा, भूपेन्द्र राई, बिजेन्द्र राई, चमा राई, दीपा राई, धिलुङ राई, जय गुरुङ, कोकिला राई, माया बरी राई, नयन राई, नीला राई, प्रदीप राई, प्रेम राई, राजन राई, रेणु चाम्लिङ राई, सजु राई, सल्मा राई, समीर राई, सन्तोषी राई, सोनी राई, सृजा राई, सुरेन्द्र राई, उमेश राई रहेका थिए।

किरात राई समुदायमा अत्यन्त लोकप्रिय एवं प्रचलित सामुहिक साकेला सिलीबाट आरम्भ भएको उक्त कार्यक्रममा बरिष्ठ एवं लोकप्रिय गायिका सपना श्री, गायक एवं संगीतकार पविधन खालिङ, चर्चित एवं लोकप्रिय गायक/गायिकाहरु बिमल डाँगी, सुमन बुढामगर, राजेन्द्र राई, तिलक श्रेष्ठ, बसन्ती राई, यशोदा खालिङ राई, एञ्जिला राई मञ्जु राई, तारा गुरुङ, मालती मगरलगायतका कलाकारहरुले बिभिन्न गीतमा आर्कषक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत अधिकांश नृत्यहरुलाई बसन्त डान्स सेन्टरका सञ्चालक विजय नकर्मीले कोरियोग्राफ गरेका थिए। उक्त सुम्निमा साँझ कार्यक्रममा गायकद्धय आदित्य लामा र राहूल राईले लाईभ व्याण्डमा बिभिन्न लोकप्रिय नेपाली गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । 

उदघाटन समारोहको अन्त्यमा किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष भारती राईले आयोजक कमिटी र सम्पूर्ण आगन्तुकहरूमा धन्यवाद ज्ञापन गर्दै पहिलो चरणको काय्रक्रम समापन गरिएको थियो।  

 क्याटेगोरीः प्रवास