नेपाली कांग्रेसका नेता रामहरी जाेशीकाे निधन


काठमाडौं, असार ३० । नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीको निधन भएको छ । २००७ सालदेखि नै कांग्रेसमा सक्रिय जोशीको ९२ वर्षको उमेरमा बिहीबार साँझ ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बिहीबार साँझ ७ः३० बजे निधन भएको उनका भतिज विष्णु जोशीले बताए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘कांग्रेसका संस्थापक नेता रामहरि जोशीको निधनले म अत्यन्त दुःखी भएको छु । उहाँको आत्माको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारप्रति समवेदना,’ देउवाले ट्वीट गरेका छन् । समाचार आजको राजधानीमा छापिएको छ ।

श्वासप्रश्वासको समस्या देखिएपछि ७ असारमा अल्का अस्पताल भर्ना गरिएका जोशीलाई २१ असारमा ग्रान्डी रिफर गरिएको थियो । उनी उच्च रक्तचापको समस्याबाट समेत पीडित थिए । नेपाली राजनीतिको क्षेत्रमा जोशी गान्धीवादी नेताका रूपमा परिचित छन् ।

२०४८ र २०५१ सालको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका जोशीले शिक्षामन्त्री र पर्यटनमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

 क्याटेगोरीः राजनीति