निर्वाचनमा सरुवा रोगप्रति देखिएन सर्तकता

काठमाडौं, जेठ २ । चिसिकत्सकहरूले आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको मतदानमा क्षयरोगका बिरामीलाई मतदानमा विशेष सर्तकता नअपनाएको भन्दै अन्य मतदातामा सर्न सक्ने खतरा औंल्याएका छन् । साधारण क्षयरोगी र आठ महिनासम्म क्षयरोगको औषधि सेवन गरे तापनि निको नभई जटिल खालका क्षयरोग लागेका (एमडीआर टीबी रोगी) मतदाता सहभागी भएपछि उनीहरूले लाइनमा बसेका अरू स्वस्थ व्यक्तिमा क्षयरोग सारेको जनस्वास्थ्य विज्ञहरूले आशंकासमेत गरेका छन् ।

साधारण क्षयरोगीले हाच्छिउँ गर्दा या खोक्दा आफ्नो आसपासका १० देखि १५ जना व्यक्तिलाई र एमडीआर अर्थात् जटिल खालका क्षयरोगीले स्वस्थ व्यक्तिलाई सजिलैसँग सिधै एमडीआर क्षयरोग सार्न सक्ने चिकित्सक बताउँछन् । साधारण क्षयरोगीले ६ देखि ८ महिना र जटिल खालका क्षयरोगीले २० महिनादेखि २ वर्षसम्म नियमित खानुपर्ने हुन्छ । साधारण क्षयरोगीले औषधि सेवन सुरु गरेको दुई महिना र जटिल खालको क्षयरोगीले ६ महिनासम्म अरूलाई यो रोग सजिलैसँग सार्न सक्छ । क्षयरोगबाट बर्षेनि ७ देखि १० हजार मानिस मरिरहेको सरकारी अनुमान छ । समाचार आजको राजधानीमा छापिएको छ ।

स्वासप्रश्वासबाट सर्ने क्षयरोग मात्रै होइन, अहिले स्वाइनफ्लु, निमोनिया, भाइरल इनफेक्सन, रुघाखोकी, इन्फ्लुएन्जा र छातीरोगसँग सम्बन्धित विभिन्न रोगहरू छन् । आइतबार सम्पन्न मतदानमा निर्वाचन आयोगले मतदातालाई मतदान गर्न सिकाएझैं स्वास्थ्य मन्त्रालयले यस्ता श्वासप्रस्वासबाट सर्ने सबै किसिमका रोगी मतदाताहरूलाई अनिवार्य रूपमा मास्क लगाएर मात्रै मतदान केन्द्रमा मतदानका लागि जान जनचेतना फैलाउनुपथ्र्याे, तर स्वास्थ्य मन्त्रालयले यस विषयमा ध्यान नपु¥याएको सरोकारवाला बताउँछन् ।

‘जुनसुकै निर्वाचनमा मतदान गर्न पाउनुु हरेक नेपाली नागरिकको नैसर्गिक अधिकार हो, तर ऊ स्वस्थ हुनु जरुरी छ,’ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जको माइक्रोबायोलोजी विभागका प्रमुख प्रा.डा.जीवनबहादुर शेरचनले भने, ‘मतदाता अस्वस्थ छ या उसमा कुनै किसिमको सरुवा रोग लागेको छ भने उसले आफ्नो मतदान गर्ने केन्द्रको मतदान अधिकृतलाई पूर्व जानकारी दिनुपर्छ ।’

यस्ता सरुवा खालका रोग भएका रोगी आफैं सचेत भई आफ्नो रोग अरूलाई नसर्ने गरी सतर्कतापूर्वक भीडभाडमा जानुपर्छ । तर, यस्तो कुरा निर्वाचन अगाडि न सरकारको राष्ट्रिय क्षयरोग केन्द्रले सिकायो न उपल्लो निकाय स्वास्थ्य मन्त्रालयले नै । सरुवारोगी मतदातालाई समयमै सचेत बनाउन स्वास्थ्य मन्त्रालय र निर्वाचन आयोगले ध्यान नदिएको उज्यालो नेपाल संस्थाकी वरिष्ठ क्षयरोग विशेषज्ञ डा.मिनु आचार्यको भनाइ छ ।

 क्याटेगोरीः