निर्वाचनमा बालबालिका प्रयोग नहुने प्रतिबद्धता

काठमाडौं, बैशाख १८ । स्थानीय निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने विषयमा राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् । बालबालिकालाई निर्वाचन प्रचार–प्रसारमा प्रयोग गरिएको गुनासो आएपछि जिल्ला बालकल्याण समितिले बालबालिका प्रयोग रोक्ने गरी राजनीतिक दलहरूलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको हो ।

 

जिल्लाको हर्नामाडी, हटिया, छतिवन र केही गाउँपालिकामा कांग्रेस, एमाले र माओवादीले बालबालिकालाई निर्वाचन प्रचार–प्रसारमा प्रयोग गरेको समितिमा उजुरी परेको जनाइएको छ । बालबालिकालाई पार्टीको नारा लेखेको टिसर्ट लगाइदिने, झन्डा बोकाउने गरेको गुनासो आएपछि समितिले आइतबार प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको हो ।

 

समितिले विद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा भइसकेको अवस्थामा पार्टीको झन्डा बोकाउने, टिसर्ट लगाइदिने, आमसभा, जुलुस, घरदैलो र अन्य प्रचार–प्रसारमा प्रयोग नगर्न आग्रह गरेको छ । समितिले तयार पारेको प्रतिबद्धतापत्रमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, माले र नयाँ शक्तिलगायत नौ दलले हस्ताक्षर गरेका छन् ।समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै कांग्रेसका जिल्ला प्रवक्ता प्रदीप कोइरालाले निषेध गर्न केही समय लागे पनि बालबालिका प्रयोगलाई नियन्त्रण गर्न सकिने बताए । उनले राजनीतिक दलले जानाजान त्यस्तो नगरेको पनि दाबी गरे । एमालेका जिल्ला उपाध्यक्ष बद्री लम्सालले निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग गर्न नहुनेमा जोड दिए । उनले जिल्ला कमिटी बैठकमा समेत बालबालिकालाई जानाजान प्रयोग नगर्ने निर्णय भइसकेको र त्यसैअनुसार सूचना प्रवाह गरिएको जानकारी दिए । ‘हामीले बालबालिकालाई प्रयोग गरेका छैनौँ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा टिसर्ट लगाउने रहरले बालबालिकाले यस्तो गरेको हुन सक्छ ।’

 

माओवादी केन्द्र जिल्ला संयोजक प्रेमबहादुर पुलामीले बालबालिका प्रयोगमा निषेध गर्न केही समस्या भए पनि नियन्त्रण अतिआवश्यक रहेको दाबी गरे । अभिभावकबाटै प्रयोग भइरहेको अवस्थामा रोक लगाउन केही समस्या हुने उनको भनाइ छ । राप्रपा जिल्ला अध्यक्ष रामहरि न्यौपानेले अभिभावकबाटै नियन्त्रण गर्नुपर्ने बताए । उनले एक घरमा कुनै न कुनै पार्टीसँग आबद्ध हुँदा छोराछोरी प्रयोग भएको उल्लेख गरे । नयाँ शक्ति नेपाल पार्टी जिल्ला सहसंयोजक जीवनमान मोक्तानले बालबालिका प्रयोगको सवालमा सबै राजनीतिक दल टाढा हुनुपर्ने बताए । उनले नयाँ शक्तिले चुनावी माहोल सुरु भएदेखि बालबालिका प्रयोग नगरेको दाबी गर्दै आगामी दिनमा पनि प्रयोग नगर्ने प्रतिबद्धता जनाए ।

 क्याटेगोरीः