निजामतीमा उमेर हद ६० वर्ष पु-याउने तयारी

काठमाडौं, पुस २८ । सरकारले निजामती कर्मचारीको उमेर हद दुई वर्ष बढाएर ६० वर्ष पु-याउने अन्तिम तयारी गरेको छ । निजामती कर्मचारीको पदावधी बढाउन सरकारले निजामती सेवा ऐन २०४९ को पाँचौ संशोधन प्रक्रिया अघि बढाएको हो ।

सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेकोमा परामर्शका लागि लोकसेवा पठाउने निर्णय भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ऐन संशोधनको विषय परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए । सरकारले एउटै किसिमको सेवामा फरक÷फरक उमेर हद देखिएकाले एकरुपता बनाउन पदावधी बढाउन लागेको जनाएको छ । सामान्य प्रशासन मन्त्री मन्त्री केशवकुमार बुढाथोकीले एकै प्रकृतिका सेवामा समेत उमेर हदमा एकरुपता नभएकोले पदावधी बढाउन लागिएको बताए ।

सरकारले दुई वर्ष उमेर बढाउँदा पेन्सन रकम बचत हुने भएकाले फाइदा हुने तर्क गर्ने गरेको छ । तर, ५८ वर्ष नै उमेर कायम राख्दा पुराना कर्मचारीले स्वतः अवकाश पाउने र नयाँ प्रविधिमा पोख्त कर्मचारी आउने भएकाले प्रविधिमैत्री, उर्जा र उत्साहवान जनशक्ति थपिने हुँदा सरकारी सेवामा थप छिटो छरितोपना आउने दाबी गरिएको छ ।समाचार आजको राजधानीमा छापिएको छ ।

कतिपयले प्रधानमन्त्री कार्यालयका सचिव टंकमणी शर्मा र सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले आफ्नो पदावधी बढाउन उमेर हद बढाउन लागिपरेको आरोप लगाएका छन् । शर्माले आगामी भदौदेखि ५८ वर्षे सेवा अवधीका कारण अवकाश पाउदैछन भने भट्टराईले २ असारबाट बिदा हुनुपर्नेछ । सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरेका पूर्वमन्त्री लालबाबु पण्डितले समग्र कर्मचारीलाई हुने गरी एकैचोटी दुई वर्ष म्याद थप्नु प्रविधिमैत्री र उर्जावान राष्ट्रसेवकलाई बन्देज लगाउनु सरह हुने बताए ।

‘योेग्यता र क्षमता भएका व्यक्तिलाई विशेष निर्णय गरेर दुई वर्ष थप्नु ठिक हो, नत्र सबैलाई थप्नु अहिलेको आवश्यकता होइन,’ पूर्वमन्त्री पण्डितले राजधानीसँग भने, ‘सक्षम जनशक्ति चाहे त्यो प्राविधिक रुपमा, प्रविधिमैत्री र क्षमताका हिसाबले उर्जावान राष्ट्रसेवकको आवश्यकता छ, अहिले नयाँ प्रगतिको ढोकालाई रोकिने गरी कदम चालिए जस्तो छ, यसले तात्कालिन रुपमा कसैको लागि फाइदा भएपनि समग्रमा राष्ट्रको हित गर्दैन ।’

 क्याटेगोरीः