नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोको जोखिम

काठमाडौं, साउन २ । ‘प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन’, नारायणगढ-काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भन्नुभयो । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उहाँले यसरी आक्रोश पोख्नुभएको होे । नारायणगढ-मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उहाँले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गर्नुभयो ।
२८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन । सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो । त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो । त्यसपछि पनि दुईपटक म्याद थपिएको छ ।

त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो । सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ । अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ । वर्षात्को समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन् । कच्चा पदार्थको अभाव रहेको प्याकेज नम्बर १ का कन्ट्र्याक्ट म्यानेजर प्रभु जोशीले बताउनुभयो । समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ । ठाउँ-ठाउँमा पहिरो खस्ने गरेको छ । खाल्डो नपुर्दा जोखिम बढेको छ । गाडी चल्दाचल्दै पहिरोको जोखिम क्षेत्रमा रोकिनुपर्ने अवस्था रहेको ट्रक चालक निजगढका मोहनबहादुर घिमिरेले बताउनुभयो । ‘भीर, पहिरो छ, कति खेर के हुने हो कुनै ठेगान छैन’, घिमिरेले भन्नुभयो, ‘सडक पार नगर्दासम्म बाँचिएलाजस्तो लाग्दैन । समाधान कहिले होला माथि कुरा पुर्‍याइदिनुपर्‍यो हजुर ।’ उक्त सडकखण्डमा सवारीसाधन रोक्न नपाइने भएपछि खाना खान नपाएको गुनासो उहाँले गर्नुभयो । गाडी बिग्रेको अवस्थामा पनि आधा घन्टासम्म मात्र रोक्न पाइन्छ ।

दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन् । उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ । ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन् । सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन् । आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो । इच्छाकामना-६ कालिखोलाका गौबहादुर गुरुङले हिजोआज पहिरो खसेको दृश्य सामान्यजस्तै लाग्न थालेको बताउनुभयो । ‘बाटो बनाउनेले नै बिगारेका हुन्, भत्किने भए पहिल्यै भत्किन्थ्यो’, उहाँले भन्नुभयो ।

 

 क्याटेगोरीः