दोस्रो चरणको स्थानीय तह निर्वाचन , मनोनयन आज

काठमाडौं, असार ४ । दोस्रो चरणअन्तर्गत १४ असारमा हुने स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) तीन प्रदेशका ३५ जिल्लामा उम्मेदवारी मनोनयन दर्ताहुँदै छ ।२० वर्षपछि स्थानीय तहको जनप्रतिनिधि चयनका लागि दोस्रो चरणअन्तर्गत १, ५ र ७ गरी तीन प्रदेशका ३५ जिल्लामा आइतबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो । तीनै प्रदेशका गरी कुल ३ सय ३४ स्थानीय तहमा बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म स्थानीय तहको निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरूले उम्मेदवारीको मनोनयन दर्ता गराउन सक्ने आयोगले बताएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दल, स्वतन्त्र उम्मेदवार र आममतदातालाई उम्मेदवारी दिने कार्यक्रममा सहभागी हुन आह्वान समेत गरे । ‘उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन आयोगको तर्फबाट म पुनः राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारसँग हार्दिक अपिल गर्दछु,’ प्रमुख निर्वाचन आयुक्त यादवले भने ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आइतबार बिहान ८ देखि साँझ ४ बजेसम्म स्थानीय तहमा नेतृत्वका लागि उम्मेदवारी दिन चाहनेहरूले उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सक्नेछन् । यसरी उम्मेदवारी दर्ता गर्न आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका र नगरपालिकाका केन्द्रमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने बताएको छ ।  समाचार आजको राजधानीमा छापिएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत कुल ७ सय ४४ स्थानीय तहका कुल १८ हजार ५ सय ७२ निर्वाचन केन्द्रमध्ये दोस्रो चरणमा ३ सय ३४ तहका ८ हजार ३ सय ६४  केन्द्र र ४ हजार ५ सय ८१ स्थलमा निर्वाचन हुने आयोगले बताएको छ । जसमा एक महानगर, सात उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका रहेका छन् । १४ असारमा हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले भाग लिनेछन् भने सो निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि चयन हुनेछन् । पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न भएका जिल्ला रुकुम र नवलपरासीका केही भागमा समेत दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । सो दुई जिल्लाका केही गाउँपालिका सरकारले हेरफेर गरेर प्रदेश–५ मा राख्ने निर्णय गरेपछि केही मतदान स्थल र केन्द्र फेरबदल भएका थिए । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले बताएको छ ।

 क्याटेगोरीः