दैनिक पाँच करोड लिटर पानी चुहावट

काठमाडौं, पुस २४ । काठमाडौं उपत्यकामा हाल वितरण भइरहेकोमध्ये दैनिक करिब पाँच करोड लिटरभन्दा धेरै पानी चुहिएर खेर गइरहेको छ । मागको तुलनामा न्यून पानी वितरण भइरहेका वेला वितरित पानीसमेत चुहिएर खेर जाँदा उपभोक्ता चर्को अभाव खेप्न बाध्य छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले हाल दैनिक साढे १३ करोड लिटर पानी वितरण गरिरहेको जनाएको छ । वितरितमध्ये ४० प्रतिशत पानी चुहावट हुने गरेको छ । यो तथ्यांकअनुसार दैनिक साढे १३ करोड लिटर पानी वितरण भए पनि पाँच करोड २० लाख लिटर चुहिएरै खेर जाने गरेको छ । चुहावट नियन्त्रणमा ठोस पहल हुन नसक्दा नियमित रूपमा पानी खेर जाने गरेको छ ।

केयुकेएलका सूचना अधिकारी सुरेशप्रसाद आचार्यले चुहावट नियन्त्रणका लागि पहल भइरहेको बताए । ‘हामीले चुहावट नियन्त्रण गर्न सक्दो पहल गरिरहेका छौँ,’ उनले भने, ‘पाइप लिकेज भएको स्थानमा चाँडो पुगेर मर्मत–सम्भार गर्ने गरेका छौँ ।’ केयुकेएलले ३५ सतहका स्रोत (नदी, पोखरी, तालगायत), ५९ वटा ट्युबवेल, जमिनमुनिबाट पम्प गरेर ३९ स्थानबाट पानी जम्मा गर्ने गरेको छ । समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

उपत्यकामा दुई लाख खानेपानीका उपभोक्ता छन् । तिनीहरूले प्रतिमहिना १० हजार लिटर पानी उपभोग गर्दा एक सय रुपैयाँ महसुल तिर्ने गर्छन् । १० हजार लिटरभन्दा बढी उपभोग गरे फरक–फरक दरमा महसुल बुझाउनुपर्छ ।

यस्तो छ माग र आपूर्तिको अवस्था

१. केयुकेएल काठमाडौं उपत्यकामा अहिले दैनिक साढे ३७ करोड लिटर पानीको माग छ । तर, केयुकेएलले १३ करोडदेखि १३ करोड ५० लाख लिटर आपूर्ति गरिरहेको छ । यो आपूर्ति परिमाण बिस्तार घट्दै जान लागेको छ । चैत, वैशाख र जेठमा औसतमा सात करोड ३० लाख लिटर वितरण हुने गरेको छ । साउन, भदौ, असोज, कात्तिक, मंसिरमा दैनिक १२ करोड लिटरसम्म आपूर्ति हुने गरेको आचार्यले जानकारी दिए ।

२. ट्यांकरको पानी उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार दैनिक पाँच करोड लिटर पानी ट्यांकरबाट आपूर्ति हुने गरेको छ । व्यवसायीले भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु र जोरपाटीमा व्यवस्थित रूपले पानी उत्पादन गरिरहेका छन् ।

३. जार–बोतलको पानी पानी प्रशोधन गरी जार र बोटलमा बिक्री गर्ने व्यवसायीले २४ लाख लिटर जारको पानी र दुई लाख २० हजार लिटर बोटलको पानी आपूर्ति गरिरहेको बोटल वाटर उद्योग संघले जनाएको छ ।

 क्याटेगोरीः