दुई खेलाडीलाई धनकुटामा अभिनन्दन


सन्तवीर लामा
धनकुटा, मंसिर २१ : मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फूटबल प्रतियोगिताको उपाधि नेपाललाई दिलाउन सफल जिल्लाका दुई खेलाडीलाई धनकुटामा नागरिक अभिन्नदन गरिएको छ ।

नेपाली राष्ट्रिय टिमको तर्फबाट निर्णायक गोल गर्न सफल सुजल श्रेष्ठ र गोलरक्षक किरण चेम्जोङ्ग लिम्बुलाई किरण सुजल बृहत नागरिक अभिन्नदन कार्यक्रमको आयोजना गरि जिल्लाबासीले आज नागरिक अभिनन्दन गरेका छन् । खेलाडी लिम्बु र श्रेष्ठलाई जनही ७५ हजार रुपैया र सम्मान पत्र प्रदान गरिएको छ ।

खेलाडीलाई उक्त रकम र सम्मानपत्र सांसद अन्जना ताम्ली, प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती,स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटा,किरण सुजल बृहत नागरिक अभिन्नदन समारोह मुल आयोजक समितिका संयोजक शुम्भु प्रधान लगायतले प्रदान गरेका थिए । धनकुटाको राजारानी गाविस–५ घर भएका गोलकिपर किरण चेम्जोङ्गले सोलीडारिटी कपको सेमिफाइनलमा लाओसका दुई खेलाडीको पेनाल्टी प्रहार रोकेका थिए ।

यस्तै सुजल श्रेष्ठले मकाओ विरुद्ध भएको फाईनल खेलमा भरत खवासको पासलाई सदुपयोग गर्दै उपाधि कब्जाका लागी निर्णायक गोल गरेका थिए ।

बुवा लालप्रसाद चेम्जोङ्ग र आमा हर्क माया राईको कोखवाट २०४७ सालमा जन्मिएका किरणको सानै उमेर देखि फुटबल खेल्न भनेपछि हुरुक्कै हुने स्वभाव रहेको थियो । उनले १४ वर्षको उमेरदेखि स्थानिय कल्व रारावाट राजारानीमा रहेको खेलमैदानवाट खेलको शुरु गरेका थिए ।

यस्तै धनकुटा नगरपालिका–७ निवासी राजु र रिमा श्रेष्ठका जेठो छोराको रुपमा रहेका सुजल श्रेष्ठले १३ बर्षको उमेर देखि धनकुटा स्थित तल्लो टुडिखेलवाट फुटबल खेलको शुरुवात गरेका थिए ।

 क्याटेगोरीः खेलकूद