दलका उम्मेदवारहरू मत माग्दै घरदैलो

काठमाडौं, बैशाख २४ । पहिलो चरणको स्थानीय तहको निर्वाचन हुन सात दिन बाँकी रहेको बेला तीनवटा प्रदेशका ३४ जिल्लामा चुनावको रौनक बढेको छ ।निर्वाचनको मिति नजिकिँदै जाँदा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका नगरदेखि गाउँ र टोलबस्ती चुनावमय बनेका छन् । विभिन्न दलका उम्मेदवारहरू आ–आप्mना घोषणापत्र र प्रतिबद्धतापत्र लिएर मत तान्ने प्रयासअनुरूप जनताका घरदैलोमा पुग्न थालेका छन् ।

 

समूहसहित छिनछिनमा विभिन्न दलका उम्मेदवार घरघरमा मत माग्दै छिर्न थालेपछि १९ वर्षपछि जनताले वास्तविक स्थानीय निर्वाचनको महसुससमेत गरिरहेका छन् ।गाउँबस्ती र टोलटोलमा दलहरूको चुनावी नारासहितका गीतसंगीत घन्किन थालेका छन् ।निर्वाचनका लागि कतिपय स्थानमा दलहरूबीच तालमेल गरिएको छ भने कतिपय स्थानमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।

भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको छ भने नेकपा एमाले र मजदुर किसान पार्टीबीच तालमेल गरिएको छ । मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस एक्लै घरदैलो कार्यक्रममा हिँडिरहेको समाचार आजको राजधानीमा छापिएको छ ।

नेकपा एमाले र नेमकिपा भने संयुक्त रूपमा चुनावी अभियानमा घरदैलो गर्दै छन् । दुई पार्टीको तालमेलअनुसार मेयर पदका लागि एमालेका मदनसुन्दर श्रेष्ठ र उपमेयरका लागि नेमकिपाका केदार खड्का संयुक्त रूपमा प्रचारमा घरदैलोमा छन् ।

एउटै जिल्लामा पार्टीहरूबीच विभिन्न दलसँग तालेमल भएका कारण दलहरूलाई जिल्लास्तरीय घोषणापत्र बनाउन अप्ठ्यारो परे पनि स्थानीय स्तरका संयुक्त घोषणापत्र बोकेर उम्मेदवार र कार्यकर्ता भने मत तान्नमा व्यस्त हुन थालेका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता ठूला दलसहित जिल्लाका स्थानीय तहमा राप्रपा, संघीय समाजवादी फोरम, नयाँ शक्तिलगायत अन्य दलले पनि घरदैलो कार्यक्रम गरिरहेका छन् ।

कास्कीका स्थानीय निकायमा मत माग्न पुग्ने उम्मेदवारलाई जनताले भने साँच्चै नै आप्mनो टोल र बस्तीका समस्या समाधान गरिदिने उम्मेदवार छान्ने कोसिस गरिरहेको बताइरहेको जिल्लास्थित राजधानीकर्मीले जनाएका छन् ।

स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारले जनता के चाहन्छन् ? भन्ने कुरालाई गम्भीर रूपमा लिनुपर्ने पोखराका उमेश कार्की बताउँछन् ।‘गाउँका मान्छेलाई राष्ट्रिय राजनीतिबारे खासै चासो पनि हुँदैन, थाहा पनि हुँदैन,’ उनले भने, ‘हाम्रा लागि त खानेपानी, बाटोघाटो, सडक, सिँचाइजस्ता सुविधा पाउनु नै ठूलो समस्या समाधान हुनु हो । त्यसैले यस्तै समस्या समाधान गर्ने व्यक्ति आउनुपर्छ ।’ उनले उम्मेदवारहरूसँग जनताका समस्या समाधान गर्ने प्रतिबद्धता माग गरिएको बताए ।यता उपत्यकाका तीनवटै जिल्लामा उमदेवारहरूले निर्वाचन प्रचार तीव्र पारेका छन् ।

 क्याटेगोरीः