थारु साहित्यक मेला सम्पन्न


इसमता संवाददाता
धनगढी, चैत्र २१ । थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारु भाषामा पठनपाठनको लागि दबाव दिने लगायत आठ बुँदे घोषणा–पत्र जारी गर्दै थारु साहित्यक मेला–२ सम्पन्न भएको छ । समापनको दिन थारु साहित्यमा महिला लेखन तथा थारु भाषाको पत्रकारिकताको अवस्था बारे अन्तर संवाद गरियो ।

महिला लेखनको विषयमा लेखिका बालिका चौधरी र गजलकार रबिना चौधरीसँग ईन्दु थारुले अन्तर संवाद गर्नु भयो । त्यस्तै थारु पत्रकारिताको बारे पत्रकार कृष्णराज सर्वहारी, गणेश चौधरी, प्रेम दहित, लखन दहितसँग छविलाल कोपिलाले अन्तर संवाद गर्नु भयो । छलफलमा अन्य साहित्यमा झैं थारु साहित्यमा पनि महिलाहरुलाई होच्याएर पुरुष स्रष्टाहरुले सिर्जना गरेकामा महिला लेखिकाहरुले प्रतिवाद गरेका थिए । त्यस्तै समाचार डेस्कमा थारुहरुको प्रतिनिधित्व नभएकाले तिनका बारे कमै समाचारले स्थान पाएको चर्चा गरियो ।

साहित्य चिन्तन र थरुहट आन्दोलनका विषयमा कृष्ण कुमार चौधरी ‘कुन्दन’, अधिकारकर्मी दिलबहादुर चौधरी युएन प्रतिनिधि फूलमान चौधरी, अधिवक्ता सन्तराम धरकटुवा थारुसँग सुशिल चौधरीले अन्तर संवाद गर्नु भयो । दश वर्षे जनयुद्धमा सबै भन्दा धेरै थारु समुदायका व्यक्ति मारिए पनि त्यस सम्बन्धी दस्तावेजीकरणको अभाव रहेको अन्तर संवादको निष्कर्ष थियो । त्यस्तै थारु साहित्यको बाटो कता भनेर ठाकुर अकेलाले प्रस्तुत गर्नु भएको कार्यपत्र माथि सुशिल चौधरीले टिप्पणी गर्नु भयो ।
अघिल्लो दिन साहित्यकार रामलाल जोशी, नविन विभास, सन्तराम धरकटुवा थारुसँग कृष्णराज सर्वहारीले थारु साहित्यको आख्यान र गजल बारे अन्तर संवाद गर्नु भएको थियो । मातृभाषामा थारु भाषाको पठनपाठनको अवस्था बारे नेवाबस्ती नेवा अभियानका संयोजक दिपक तुलाधर तथा शिक्षक स्वर्णमान चौधरीसँग सुशिल चौधरीले अन्तर संवाद गर्नु भएको थियो । त्यस्तै भाषाविद पदम राईले थारु भाषाको मानकता बारे प्रशिक्षण दिनु भएको थियो । त्यसै गरी विभिन्न विधाका ६ वटा पुस्तक विमोचन पनि गरिएको थियो ।

थारु साहित्यिक मेला तेश्रो श्रृंखला बर्दियाको राजपुरमा गर्ने निर्णय गरिएको जानकारी थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारीले दिनु भयो ।

 क्याटेगोरीः आदिवासी जनजाति