तालमेलले कार्यकर्ता ‘बेखुस’

काठमाडौं, बैशाख २४ । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेललाई यि दुबै दलका नेता कार्यकर्ताहरुले ‘असहज’ मानेका छन्। चार महानगरपालिकामा चुनावी तालमेल गरेर जाने निर्णय गर्दै यो तालमेललाई गाउँतह सम्मै लैजाने भन्ने सञ्चारले तल्लो तहमा ‘तरंग’ मच्चाईदिएको छ । यि दुबै पार्टीका तल्लो तहका नेता कार्यकर्ताहरुले  ‘चुनावी तालमेल’ लाई पार्टी नेतृत्वबाट भएको गम्भिर त्रुटीका रुपमा अर्थ्याएका छन् । तालमेलका नाममा एकले अर्कोलाई स्वीकारेर जानै नसकिने कडा बिचार समेत ब्यक्त भैरहेका छन्।

माओवादी दाङका नेता विश्वराज आचार्यले चार नगरपालिकामा आफ्नो पार्टीले कांग्रेससंग गरेको चुनावी तालमेललाई निकै अशोभनीय महशुस गरे । गाउँतह सम्मै तालमेललाई फैलाउने भन्ने सञ्चारले जेठ ३१ मा निर्धारित निर्वाचनमा कांग्रेसलाई मतदान गर्नुपर्ने दिन आउने होकी भन्ने ‘शंशय’मा उनी छन् । उनले ‘माओ’को पुकार गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘हे माओ रक्षा गर,रुखमा भोट हाल्नबाट जोगाउ।’

माओवादी नेता आचार्यको पुकार जस्तै कांग्रेस घोराही घोराही उपमहानगरपालिका १३ का कोषाध्यक्ष निरज गिरीले पनि माओवादीलाई भोट हाल्ने दिन नआए हुन्थ्यो भन्नेमा छन् । बीपी कोईराला र गिरीजा प्रसाद कोईरालालाई पुकार्दै उनले पनि लेखेका छन् ‘हे बीपी र जिपी,हँसिया हथौडाको प्रचार कसरी गरुँ ?’ माओवादीसंगको चुनावी तालमेललाई स्थानीय स्तरमा निकै अशोभनीय मानिएको भन्दै गिरीले यो तालमेलले कार्यकर्ता भाँडिने खतरा रहेको बताए । ‘यस्तो तालमेलले कार्यकर्ता पंक्तीमा मनोबल गिरेको छ,’उनले भने ‘कुनै बेलाको ‘कट्टर दुश्मन’लाई कसरी भोट दिने ? भन्ने बुझाई आम कार्यकर्तामा छ ।’ समाचार आजको नागरिकमा छापिएको छ ।

त्यसोत, तुलसीपुर नगरपालिकामा कांग्रेसका तर्फबाट उपमेयरको उम्मेदवारका रुपमा अँफूलाई प्रस्तुत गरिरहेका तेजबहादुर कार्किले माओवादीसंगको तालमेल कुनै पनि हालतमा आँफुहरुलाई मान्य नहुने दाबी गरेका छन् । उनले पनि माओवादीलाई मतदान गर्न नसकिने भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा गरेका छन् ‘कुनै पनि हालतमा हँसिया हथौडामा भोट हाल्न सकिदैन ।’

पार्टीका दुई शिर्षनेताहरुको सहमतीकै आधारमा तल्लो तहमा दुईपार्टीका कबार्यकर्ताविच मतदानमा ‘एकता’ कायम हुने रतिभर सम्भावना नरहने स्थानीय तहका कार्यकर्ताहरुको मनोभावले पुष्टि गरेको छ ।  कारण र उदेश्य विहिन दुईनेताको सम्झौतालाई कार्यकर्ता पंक्तीले कुनैपनि हालतमा नमान्ने राजनीतिक विश्लेषक बिनोद पोख्रेल टिप्पणी गर्छन् । उनले यो तालमेललाई कारण र उदेश्य हिन हुनुनै सबैभन्दा ठूलो कमजोरीका रुपमा अर्थ्याए।

 क्याटेगोरीः