ठूला दल तालमेल रणनीतिमा

काठमाडौं, बैशाख २१ । प्रमुख राजनीतिक दल ३१ वैशाखका लागि तय गरिएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार तालमेलको अन्तिम कसरतमा जुटेका छन् ।

निर्वाचनमा संसद्को पहिलो र तेस्रो ठूलो दल सत्तारूढ कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर प्रतिस्पर्धाको तयारी गरेका छन् भने प्रतिपक्षी दल नेकपा एमाले र भर्खरै सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर मैदानमा उत्रने कसरतमा जुटेका छन् ।

उम्मेदवारको उम्मेदवारी फिर्ता लिने समय (बिहीबार) सम्म तालमेलका लागि वार्ता जारी राख्ने दलहरूले बताएका छन् । ‘आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्ममा धेरै ठाउँमा तालमेल हुने सम्भावना छ । पार्टीगत रूपमा उम्मेदवारी परेका ठाउँमा पनि तालमेलपछि फिर्ता र समर्थनको प्रक्रिया अघि बढ्नेछ,’ माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मणि थापाले राजधानीसँग भने ।

दलहरू उम्मेदवारी फिर्ताको समयभित्र मिल्न नसकेको अवस्था आए मतदानको अघिल्लो दिनसम्ममा पनि तालमेल हुने बताउँछन् । दलीय उम्मेदवारी बेग्लाबेग्लै परे पनि एकअर्कालाई त्याग गरेर भोट माग्न जाने सम्भावना निर्वाचनका दिनसम्म पनि चल्ने एमालेका नेताहरू पनि स्वीकार गर्छन् ।

सत्तारूढ कांग्रेस माओवादी केन्द्र चारवटा महानगरपालिकामा तालमेल गरेर नगरपालिका तथा गाउँपालिकामा समेत तालमेल गर्न सैद्धान्तिक रूपमा सहमत भए पनि व्यावहारिक रूपमा कुरा मिल्न सकेको छैन । विपक्षी एमाले र राप्रपाबीच भने कतिपय ठाउँमा तालमेलसमेत जुटेको समचार आजको राजधानीमा छापिएको छ ।

कांग्रेस–माओवादीबीच शीर्ष तहमा काठमाडौं र पोखरा महानगरपालिकाको प्रमुखमा कांग्रेस र ललितपुर र भरतपुर महानगरपालिका प्रमुख माओवादी केन्द्रलाई दिन छलफल चलिरहेको दलहरूले बताएका छन् । केन्द्रमा दुई÷दुई महानगरपालिका बाँडेर मैदानमा उत्रने विषयमा सहमति भए पनि स्थानीय पार्टी कमिटीमा मिल्न सकेको छैन ।

कांग्रेस र माओवादी केन्द्र चुनावी तालमेलको कसरतमा जुटेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ खोजेको हो । एमाले र राप्रपाबीच काठमाडौं महानगरपालिकामा सहमतिसमेत जुटेको छ । काठमाडौंमा मेयरमा एमालेले विद्यासुन्दर शाक्यलाई उठाएको छ भने उपमेयर राप्रपाको तर्फबाट राजाराम श्रेष्ठ उठेका छन् । एमाले र राप्रपाबीच ललितपुर, पोखरा र भरतपुर महानगरपालिकामा पनि मिलेरै चुनाव लड्ने तयारी गरिरहेका छन् ।

 क्याटेगोरीः