टेबुल गरेपछि परिमार्जन हुन सक्छ : सरकार

काठमाडौं, पुस २० । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको सहमतिअनुसार अघि बढाएको संविधान संशोधन विधेयक २४ पुसमा बस्ने व्यवस्थपिका–संसद् बैठकमा टेबुल गर्ने भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद् अवरोध हटाउने संकेत गरेपछि सहमतिमै २४ पुसमा विधेयक टेबुल गर्ने सरकारले गृहकार्य अघि बढाएको हो ।

कानुनमन्त्री अजयशंकर नायकले एमालेले सहमतिका साथ जाऊँ भनेकाले समझदारीमा नै २४ पुसमा बैठक बोलाइएको र सोही दिन संशोधन विधेयक टेबुल गर्ने बताए । सरकारले अहिले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावमा भने परिमार्जन नगर्ने जनाएको छ । कानुनमन्त्री नायकले संशोधन विधेयक जस्ताको तस्तै टेबुल गर्ने र छलफलबाट परिमार्जन हुन सक्ने बताए । ‘दर्ता गर्दा एउटा गर्ने, टेबुल गर्दा परिमार्जन गरेर अर्को गर्ने त हुन्न,’ मन्त्री नायकले भने, ‘टेबुल गरिसकेपछि संशोधन हाल्न सक्ने ठाउँ हुन्छ, छलफलका क्रममा परिमार्जन हुन सक्छ, तर अहिले दर्ता भएको जे हो त्यहीँ नै रहन्छ ।’ समाचार आजको राजधानीले छापेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा पहिला प्रक्रिया अगाडि बढाएपछि छलफलबाट के गर्न सकिन्छ, त्यस विषयमा छलफल गरी परिमार्जन गर्दै जान सकिने बताए । ‘संविधानले के कति अनुमति दिन्छ ? त्यसलाई मध्यनजर गरेर जानुपर्छ, यस आधारमा परिमार्जन गरेर जान सकिन्छ,’ पौडेलले  भने,

‘पहिला प्रक्रियामा त जान प¥यो नि ।’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सबै विषय संसद् सुचारु गरेर प्रक्रियाबाट टुंग्याउनुपर्ने बताए । ‘संसद् खुलाएर छलफल गरौं, कसले के परिमार्जन खोजेको हो, त्यो संसद्मै छलफल गरौं भन्ने नै सरकारको भनाइ हो,’ मन्त्री लेखकले भने, ‘सुरुमा संसदीय अभ्यासमा जाऔं, सरकारले त प्रक्रियाबाटै सबै हल गरौं भनेर त भनिरहेकै हो नि ।’

सरकारले व्यवस्थापिका–संसद्बाटै संशोधनको सम्पूर्ण टुंगो लाग्ने बताएको छ । सबैभन्दा पहिला प्रक्रिया अगाडि बढाएपछि सबैको कुरो सुनेर सबै विषय संसद्ले नै टुंगो लगाउने सत्तारूढ दलका नेताले बताएका हुन् । मन्त्री लेखकले अहिलेकै संशोधन टेबुल हुने र यसभन्दा बढी विषय टेबुल नहुने भन्दै बाँकी विषय संसद्बाटै टुंगो लाग्ने बताए ।

उनले सर्वोच्च अदालतले पनि संशोधनमा कुनै विषय रोकतोक नगरेको बताए ।

कांग्रेस वरिष्ठ नेता पौडेलले संसद्ले प्रक्रिया अगाडि बढाएपछि सबै विषयमा छलफल गर्न सकिने भन्दै तराई मधेसको विषयलाई बाहिर राखेर अघि बढ्न नसकिने बताए ।

 क्याटेगोरीः