जलविद्युत् आयोजनाको सेयर अब चाहेजति

काठमाडौं, पुस २६ । जलविद्युत् विकासका लागि आम सर्वसाधारणको बढीभन्दा बढी सहभागिता हुने गरी सरकारले पहिलोपटक ‘नेपालको पानी, जनताको लगानी’ अनलाइन कार्यक्रम घोषणा गरेको छ ।
सरकारले सोमबारबाटै सो कार्यक्रममा जनतालाई आफ्नो सहभागिता जनाउनसमेत आह्वान गरेको छ ।  सोमबार सो अनलाइनको ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभयो ।
यसअघि जलविद्युत् आयोजनामा लगानी गर्न चाहने कुनै पनि व्यक्तिले निश्चित बैङ्क तथा वित्तीय संस्थामा लाइनमा बसेर सेयर फाराम भर्नुपर्ने र भरे अनुसारको सेयर कित्ता पर्न नसक्ने सम्भावना पनि हुन्थ्यो तर अब सरकारको यो घोषणासँगै लगानीकर्ताले अनलाइनमार्फत फाराम भरे अनुसारको रकम बराबरको सेयर कित्ता पाउन सक्ने व्यवस्थासमेत गरिएको बताइएको छ ।
मन्त्रालयले तयार पारेको अनलाइन फाराम भरेर पहिलो चरणमा आमसर्वसाधारणले आफ्नो लगानीको प्रतिबद्धता व्यक्त गर्नुपर्ने हुन्छ ।  पहिलो चरणमा सहभागी इच्छुक व्यक्तिको अध्ययन, मूल्याङ्कन तथा लगानीकर्ताको आवश्यक विवरण रुजु गरी लगानीकर्तालाई कुन जलविद्युत् आयोजनामा लगानी गर्दा राम्रो हुन्छ भन्ने कुराको सिफारिससमेत सरकारले गर्ने बताएको छ ।  सरकारले सिफारिस गरेका आयोजना मध्येबाट लगानीकर्ताले जलविद्युत् आयोजनाको उत्पादन क्षमता, निर्माण अवधि, लागत तथा सम्भावित प्रतिफल हेरेर आफूले लगानी गर्ने आयोजनाको छनोट गर्न सक्नेछन् ।
अनलाइनमा आएको प्रतिबद्धताले आमसर्वसाधारणबाट कति रकम सङ्कलन हुनसक्छ र त्यो सङ्कलित रकमले कुन आयोजना बनाउन सकिन्छ भन्ने अध्ययन र विश्लेषण गर्न सरकारलाई सहज हुने कुरा ऊर्जामन्त्री शर्माले बताउनुभयो ।  समाचार आजको गोरखापत्रमा छापिएको छ ।
मन्त्रालयले तयार पारेको अनलाइन फाराम भर्ने कामको सुरुआतीले सेयर लगानीमा बढीभन्दा बढी सर्वसाधारणको सहभागिता हुने अपेक्षा लिइएको छ ।
मन्त्रालयले निर्माण गरेको अनलाइनमा प्रतिबद्धता फाराम भर्नेबित्तिकै लगानीकर्ताले रकम जम्मा गर्नु पर्दैन ।  मन्त्रालयले आयोजनाबारे जानकारी दिएपछि आफूलाई लगानी गर्न मन लागेको आयोजनामा प्रतिबद्धता अनुसारको रकम लगानी गर्नुपर्ने हुन्छ ।

जलाशययुक्त र अर्ध जलाशययुक्त आयोजनाका लागि सुक्खायाम र वर्षाको छ ÷छ महिनाका लागि नयाँ विद्युत् खरिददर पनि कायम गरिएको छ ।  अनलाइन उद्घाटन कार्यक्रममा मन्त्री शर्माले यसको जानकारी दिनुभएको हो ।  उहाँका अनुसार प्रतियुनिट मङ्सिरदेखि जेठसम्म १२ रुपियाँ ४० पैसा र जेठदेखि मङ्सिरसम्म प्रतियुनिट सात रुपियाँ १० पैसा निर्धारण गरिएको छ ।
यसरी नयाँ दररेटमा खरिद सम्झौता गर्ने प्रवद्र्धकले कम्तीमा १७ प्रतिशत मुनाफा कमाउनसक्ने दाबी उहाँको थियो ।  त्यसैगरी अर्ध जलाशययुक्त आयोजनाका लागि मङ्सिरदेखि जेठसम्म १० रुपियाँ ५५ पैसा र जेठदेखि मङ्सिरसम्म चार रुपियाँ ८० पैसा कायम गरिएको छ ।

 क्याटेगोरीः