छैन नागरिकता त्याग्नेको विवरण

काठमाडौं, पुस १८ । आजसम्म ठ्याक्कै कति जनाले नेपाली नागरिकता त्याग गरे ? गृह मन्त्रालयसँग यसको यकिन तथ्यांक छैन । होस् पनि कसरी । देशैभरिका जिल्ला प्रशासन कार्यालयहरूले पठाउने मासिक रिपोर्टमा अन्य धेरै विषयवस्तु समेटिए पनि नागरिकता कतिले त्यागे भन्ने विवरण कि त पठाइँदैन अथवा पठाइए पनि पूर्ण विवरण हुँदैन ।

मन्त्रालयको नागरिकता फाँटका उपसचिव सागरमणि पाठक यसको तथ्यांक गृहकै ई–गर्भनेन्स शाखाले राख्नुपर्ने बताउँछन् । ई–गर्भनेन्स शाखाले जिल्ला प्रशासन कार्यालयहरूले गरेको कामकारबाहीको विद्युतीय सूचना संग्रह गर्ने र केन्द्रीय रूपबाटै त्यसको निगरानी गर्ने गर्छ । यो शाखाका प्रमुख श्रवण पोख्रेलले पनि यसको ठ्याक्कै उत्तर भन्न नसकिने बताए । ‘कुन जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले कति नागरिकता वितरण गर्‍यो भन्ने दैनिक विवरण भने हामीसँग हुन्छ,’ उनले भने, ‘जिप्रकाले अनलाइन सिस्टममै गएर तथ्य तथ्यांक भर्छन् जसको मोनिटर केन्द्रबाट हामीले गरिरहेका हुन्छौं ।’
उनले अनलाइन सिस्टममा रहेको फारममा नागरिकता त्याग्नेहरूको विवरण राख्न मिल्ने बताए । उनका अनुसार गृहले जिप्रकाको कम्प्युटर शाखामा काम गर्ने कर्मचारीलाई यसबारे तालिम नै दिएर सिकाइसकेको छ ।  पोख्रेलले गृह प्रशासनले नागरिकता त्याग गर्नेहरूको विवरण अहिलेसम्म नमागेको मात्रै बताएनन्, त्यस्तो एकीकृत जानकारी आफूहरूले अहिलेसम्म ननिकालेको पनि बताए ।समाचार आजको कान्तिपुरमा छापिएको छ ।
त्यसो त जिल्ला प्रशासन कार्यालयहरूले प्रत्येक महिना गृहमा रिपोर्ट पठाउँछन् । त्यसमा नागरिकता त्याग्नेको पूर्ण विवरण भने समेटिने चलन छैन ।
त्यसो त नागरिकता त्याग्ने फरकफरक विधि र प्रक्रिया छन् । जस्तो कि, कतिपयले सम्बन्धित देशको नेपाली दूतावासमा नागरिकता त्यागको निवेदन दिन्छन् । त्यस्तो निवेदन दूतावासबाट कन्सुुलर शाखा पुग्छ र कन्सुलरले उक्त विवरण सम्बन्धित जिप्रकामा पठाउँछ र जिप्रका हुँदै त्यस्तो जानकारी गृहमा आउनुपर्ने हो । कतिपयले भने नागरिकता त्यागका लागि सोझै जिप्रकामा निवेदन दिने गर्छन् । त्यस्तै गृहको नागरिकता फाँटमा सोझै नागरिकता त्यागका लागि पनि निवेदन दिन सकिने व्यवस्था छ । नागरिकता त्यागको सरकारी पत्र सबै देशमा अनिवार्य छैन । पाठकका अनुसार त्यस्तो अवस्थामा नेपालीले अन्य देशको नागरिकता लिए पनि नेपालको नागरिकता त्यागेको औपचारिक जानकारी सरकारलाई नहुन सक्छ । नेपालको हकमा भने अन्य देशका नागरिकले नेपालको नागरिकता लिन चाहे वा त्यसका लागि योग्यता पुर्‍याए सम्बन्धित देशको नागरिकता त्यागेको सरकारी प्रमाण गृहले खोज्छ ।

 क्याटेगोरीः