चेपाङका नाममा चौपट

एउटै गाविसमा ९ करोड लगानी तर भोकभोकै – कैयन् लगानीबारे न गाउँलेलाई थाहा छ न जिविसलाई

काठमाडौं, पुस २१ । सिद्धि–९ स्थित छेरबाङका सतीराम चेपाङको घर पुग्न मोटरबाटोदेखि करिब डेढ घण्टा पैदल हिँड्नु पर्छ । घरबाटै मोटरबाटो देखिन्छ । त्यहीँबाट दैनिक गाडी ओहोरदोहोर गर्छन् । तर उनको दु:ख बुझ्ने कोही हुँदैनन् । अपांग भए पनि दु:खजिलो गरेर बिहान/बेलुका छाक जुटाउँछन् । अन्न नभएका दिन भोकै सुत्छन् । कसैसँग हात फैलाएर माग्दैनन् । उनको देब्रे खुट्टा बाङ्गो छ । यो समस्या जन्मजात हो ।

अहिले घरमा अनिकाल छ । मकै फलेन । अरू अन्न लगाउने बारी छैन । ‘पाँच डोको मकै फलेको थियो, खाने धेरै छौं, अहिलेसम्म के पुग्थ्यो,’ घरको पिँढीमा निराश मुद्रामा भेटिएका उनले भने, ‘तिहारबाट अनिकाल लाग्यो, खाने अन्न छैन, जसोतसो बाँचिएको छ ।’ जनता आवासमार्फत बनेको घर भूकम्पले भत्कियो । अहिले टहरोको बास छ । टहरोको एक छेउमा बाख्रा छन् । टाँडमुनि सुँगुर छ । त्यसको माथि उनको परिवार बस्छ ।

तीनदोभानसम्म मोटरबाटो पुगेकाले पहाडी गाविसमध्ये सिद्धि सुगममा गनिन्छ । यो गाविसमा चेपाङ समुदायको बाक्लो बसोबास छ । सहज यात्रामा पुगिने भएकाले अधिकांश गैरसरकारी संस्थाको आँखा यो गाविसमा पर्ने गरेको छ । समाचार आजको कान्तिपुरले छापेको छ ।

चेपाङ गाउँको विकास र समुदायको आर्थिक उन्नतिका लागि भन्दै करोडौं बजेट भित्रिएको छ । तर जीवनस्तरमा कुनै परिवर्तन आएको छैन । गरिबी उस्तै छ । शिक्षा, स्वास्थ्य, खानेपानीमा कुनै सुधार छैन । जिल्ला विकास समितिको रेकर्डमा मात्रै यो गाउँमा ३ वर्षयता ९ वटा संस्थामार्फत ९ करोड ३७ लाख रुपैयाँ भित्रिएको छ । तथ्यांकमा नहुने तर पटके ढंगले काम गर्ने अनगिन्ती छन् । कसैले दान, सहयोग गर्नुपरे यहीं पुग्छन् । १० लाखभन्दा कम बजेट भएका संस्थाको हिसाबकिताब छैन । चेपाङको नाममा काम गरेजस्तो गरेर खर्च नदेखाई रकम हिनामिना गर्नेको कमी छैन । आर्थिक पारदर्शिता छैन । कुन संस्था गाउँमा आएका छन् । कसले के काम गरेको छ, गाउँलेलाई थाहा छैन । सम्बन्धित निकायबाट कुनै अनुगमन भएको छैन ।
जिविसका अनुसार जेन्टल हर्ट फाउन्डेसनले १८ लाख ७५ हजार बजेट सिद्धिका लागि छुट्याएको छ । उता फरवार्ड नेपालले यो गाविसमा ६ वर्षदेखि काम गर्दै आएको छ ।

यो संस्थाको उद्देश्य चेपाङलाई जीविको पार्जनमा सहयोग गर्ने हो । तर त्यसको अनुभूति चेपाङ समुदायले गर्न पाएका छैनन् । करेसाबारी, गोठ सुधार, बंगुरपालन, माछापालन भन्दै संस्थाले यो गाविसका लागि ७० लाख ५१ हजार ३ सय ७७ रुपैयाँ छुट्याइएको छ । गाउँमा जाँदा न बंगुर पालेको देख्न पाइन्छ न माछा पालेको देख्न पाइन्छ ।

 

 क्याटेगोरीः