चार वर्षमा काठमाडौंमा थपिनेछ ३४ करोड लिटर पानी

काठमाडौं, असार ४ । सरकारले आगामी चार वर्षभित्रै उपत्यकामा ३४ करोड लिटर खानेपानी ल्याउने तयारी थालेको छ। मेलम्ची खानेपानी आयोजना दोस्रो चरणको परियोजना अन्तर्गत सिन्धुपाल्चोकको लार्के र याङ्ग्री खोलामार्फत थप खानेपानी ल्याउन लागिएको हो। खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम उपाध्यायले दोस्रो चरणअन्तर्गत मेलम्चीको पानी ल्याउने काम अघि बढिसकेको बताए।

‘स्वदेशी तथा विदेशी परामर्शदाताले मेलम्ची दोस्रो परियोजनाको डिजाइन र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारिरहेका छन्, सम्भवतः डिसेम्बरसम्म प्रारूप तयार भइसक्नेछ,’ उपाध्यायले भने, ‘डिजाइन तयार भए पनि एसियाली विकास बैंक (एडिबी)सँग ऋण सम्झौता गरेर सरकारले बोलपत्र आह्वान प्रकृया अघि बढाउनेछ ।’ उनका अनुसार एडिबीले दोस्रो चरणको मेलम्ची परियोजनामा ऋण सम्झौता गरेर लगानी गर्न इच्छा देखाएको छ ।

दोस्रो परियोजनाका लागि सरकारले डिजाइन तयार गर्न विदेशी परामर्शदाता ‘ट्याक्ट टिबेल’ र स्वदेशी ‘टोटल म्यानेजमेन्ट सोलुसन एन्ड इआरएमसी’लाई जिम्मा दिएको छ । डिजाइनका लागि सरकारले १० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । उपाध्यायका अनुसार कुनै अवरोध नआए आगामी अङ्ग्रेजी नयाँ वर्षसँगै परियोजनाको ठेक्का सम्झौता हुनेछ।  समाचार आजको नागरिकमा छापिएको छ ।

सरकारले लार्के र याङ्ग्री खोलाको पानी सन् २०२२ सम्म राजधानीमा ल्याइसक्ने लक्ष्य राखेको छ। त्यसबाट चक्रपथ बाहिर टोखा, जोरपाटी, गोकर्णेश्वर, ठिमी, भक्तपुर र गोठाटारलगायत क्षेत्रमा पानी वितरण गरिनेछ । दोस्रो चरणको परियोजनामा चक्रपथ बाहिरका र केही चक्रपथभित्र छुटेका क्षेत्रमा पानी वितरण गर्न पाइपलाइन जडान गर्ने लक्ष्य राखिएको मेलम्ची खानेपानी उप–आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताए ।

दोस्रो चरणको पानी भित्रिएसँगै उपत्यकाको खानेपानी अभाव अन्त्य हुनेछ । सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाको पानीलाई ११ किलोमिटरको सुरुङ बनाएर मेलम्ची खानेपानीको हेडवक्र्स (बाँध)मार्फत मिसाइनेछ ।

‘मेलम्ची परियोजनाको हेडवक्र्सदेखि याङ्ग्रीसम्म ९ किलोमिटरको सुरुङ मार्ग र बाँध बाध्नुपर्ने हुन्छ,’ दुवाडीले भने, ‘फेरि याङ्ग्रीदेखि लार्केसम्म दुई किलोमिटर सुरुङ मार्ग हुँदै बाँधबाट पानी भित्र्याइनेछ।’

मेलम्ची खानेपानी परियोजनाको सुरुङबाट झण्डै १ सय करोड लिटर पानी ल्याउन सक्ने क्षमता रहेको मेलम्ची खानेपानी उप–आयोजनाले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार उपत्यकामा हाल ३७ करोड ५० लाख लिटर खानेपानीको माग छ । केयुकेएलले दैनिक करिब नौं करोड लिटर पानी वितरण गर्दै आएको छ । नौं करोड लिटरमध्ये झण्डै ४० प्रतिशत चुहावट हुन्छ ।

 क्याटेगोरीः