घर बनाउन गाउँमा मान्छे भेटिनै छाडे

काठमाडौं, पुस २३ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पले तहसनहस भएको दोलखाको सुनखानी । २१ महिनापछि नयाँ पत्रिकाकर्मी सुनखानी पुगे, त्यहाँको जनजीवन यसरी रिपोर्टिङ गरे :

पैसा छ, तर घर  बनाउन मान्छे पाइन्न

जस्ता र चित्रोले बारेको छाप्रो अघिल्तिर ५५ वर्षीया भीमकुमारी सिवाकोटी भाँडा माझ्दै थिइन् । भूकम्पमा लडेको उनको घरको अवस्था अहिले पनि उस्तै छ । भूकम्पमा उनका एक हल गोरु र बोका मरे । सरकारले पीडितका लागि अनुदानस्वरूप बाँडेको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाइन् । तर, अझै घरको जग खार्न सकेकी छैनन् । काम गर्ने मजदुर नभेटेपछि उनले घर बनाउन चासो नदिएकी हुन् ।

मजदुरको ज्यालै महँगो

बाथरोगले थलिएको पोखराबारी गाउँका ५० वर्षीय लेखनाथ सिवाकोटी जस्ताको छाप्रो छेउमै बसेर घाम तापिरहेका थिए । उनी पनि घरबारविहीन हुन् । उनले ५० हजार रुपैयाँ पाइसके, तर मजदुरको अभावमा उनले घर बनाउन सकेका छैनन् । ‘सरकारले दिने ५० हजार रुपैयाँ पाएँ । तर, घर बनाउन गाउँमा मान्छे नै भेटिन्न, रोगी छु । भेटिएका मजदुरले ज्याला महँगो भन्छन् । सरकारले दिएको अनुदानले पुग्दैन । त्यसैले छाप्रोमै बस्दै आएको छु,’ उनले भने । पैसाले मात्रै घर बन्दैन पोखराबारीकै ४५ वर्षीया निर्मला त्रिपाठीको दुईवटा घर भूकम्पमा ध्वस्त भयो ।समाचार आजको नयाा पत्रिकामा छापिएको छ ।

उनी अहिले जस्ताको टहरोमै बस्दै आएकी छिन् । सरकारले बाँडेको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाइन् । तर, घरको जग खार्न सकेकी छैनन् । गाउँमा मजदुर नभेटेपछि उनले घरको जग खार्न नसकेकी हुन् । ‘घर बनाउन सकिएको छैन । पैसाले मात्रै घर नबन्ने रहेछ । गाउँमा मजदुर भेटिन्नन्, भेटिएकाले ज्याला महँगो भन्छन् । त्यसो हुँदा जाडो सहेर छाप्रोमै बस्नु परेको छ,’ उनले भनिन् ।

गाउँका सबै युवा विदेश लापिलाङ–९ पाटागाउँकी ८५ वर्षीया भीमकुमारी बस्नेत चित्रोले बारेको गोठमा आगो फुक्दै गरेको अवस्थामा भेटिइन् । भूकम्पले उनको तीनतले घर ढाल्यो । उनी अहिले गोठमा बस्दै आएकी छिन् । तर, गोठमा जाडो छेक्ने कुनै छेकवार छैन । जाडोले उनको हातखुट्टा पटपटी फुटेका छन् । अँगेनामा दाउरा ठोस्दै उनले भनिन्, ‘भूकम्पले घर ढालेपछि जस्ताको टहरासमेत हाल्न सकिनँ । यही गोठमा बसेकी छु । आगो तापेरै रात बित्छ ।’ सरकारले दिने अनुदान रकम उनले अझै पाएकी छैनन् । ‘सरकारले दिने ५० हजार रुपैयाँ पनि पाइनँ । केले घर बनाउने ? जस्ताकै टहरोमा अब जुनी बित्ने भयो,’ उनले भनिन् ।

 क्याटेगोरीः