गर्भावस्थामै नै थाहा पाउन सकिन्छ ‘डाउन सिन्ड्रोम’


काठमाडौं, चैत ७ । गर्भवतीले आफ्नो शिशुको अवस्था थाहा पाउन गर्भवती भएको १३ हप्तापछि गर्भ जाँच गराउन चिकित्सकले सुझाव दिएका छन् । ।

गर्भमा भएको बच्चामा डाउन सिन्ड्रोम (एक प्रकारको बौद्धिक अपाङ्गता) छ कि छैन भनी पत्ता लगाउन गर्भवती अवस्थामै जाँच गराउनु आवश्यक भएको चिकित्सकको भनाइ छ ।

जनचेतनाको अभावका कारण धेरैले यस्तो जाँच गराउने गरेका छैनन् । जन्मजात उपचार नहुने क्रोमोसोम असामान्य भएको अवस्थालाई डाउन सिन्ड्रोम भनिन्छ । यो अवस्था क्रोमोसोम २१ मा एउटा अतिरिक्त क्रोमोसोमको पूरा वा सानो अंश जोडिएका कारणले हुन्छ । यसलाई ट्राइसोमी २१ पनि भनिन्छ ।

एक प्रकारको बौद्धिक अपाङ्गता भनिने डाउन सिन्ड्रोम गर्भमा भएको शिशुमा छ कि छैन भनी ‘प्रि नेटल टेस्टिङ’ जाँच गरेपछि थाहा पाउन सकिन्छ । यसको जाँच नेपालमा उपलब्ध नभए पनि भारतमा रगतको नमुना पठाएर जाँच गराउने गरिएको छ ।

सिन्ड्रोम एसोसिएसन अफ नेपालका अध्यक्ष डा. ललिता जोशीले हरेक गर्भवती आमालाई ‘प्रि नेटल टेस्टिङ’ गराउन आवश्यक भएको बताइन् ।

डाउन सिन्ड्रोम निको नहुने भएकाले यस्ता समस्या भएका बालबालिका तथा व्यक्तिको मनोविज्ञान बुझेर माया, प्रोत्साहन र सहारा दिएर हरेक क्रियाकलापमा साथको आवश्यकता छ ।

गर्भमा भएको बच्चाको प्रारम्भिक जाँचबाट डाउन सिन्ड्रोम भएको शङ्का लागेमा अर्को चरणको डाइनेस्टिक जाँच गराई गर्भको बच्चाबारे निर्णय गर्न सकिने डा. जोशीले बताइन् ।

डा. जोशीका अनुसार सामान्य व्यक्तिमा ४६ क्रोमोसोम हुन्छ भने डाउन सिन्ड्रोम भएकामा ४७ क्रोमोसोम हुन्छ । यो क्रोमोसोम साधारणतया अधिकांशमा असामान्य देखिनेमध्ये हो र बौद्धिक अपाङ्गताको कारण पनि हो ।

संज्ञान क्षमता र शारीरिक विकासको ढिलाइ र अनुहारको आकारको विशिष्ट समूहसँग जोडिएको हुन्छ ।

सन् १८६६ मा ब्रिटिस चिकित्सक जोन ल्याङ्डन डाउनले पहिलो पटक यो क्रोमोसोम असामान्यताबारे व्याख्या गरेका हुनाले उनकै नामबाट यस्तो समस्या भएका व्यक्तिलाई ‘डाउन सिन्ड्रोम’ भन्न थालिएको हो ।

डाउन सिन्ड्रोम भएका व्यक्तिमा गोलो, चेप्टो अनुहार, अति सानो चिउँडो, नेप्टो नाक, माथि फर्केको चिम्से आँखा, मोटो चिरा परेको मुखबाट निस्किराख्ने जिब्रा खुट्टाको बूढो र दोस्रो अङ्गुलाबीच फाटो, हत्केलामा एक्लो लाइन (साइमन क्रिज), छोटो गर्धन, आँखाको नानीमा सेतो वा पहेँलो थोप्ला (ब्रसफिल्ड स्पाटस), होचोपन, टाउकोको गोलाई सानो, सानो र तल जोडिएको कान, मांसपेसीको फितलोपना, सानो जनेन्द्रीय, बौद्धिक अपाङ्गताजस्ता समस्या देखिन सक्छन् ।

नेपालमा डाउन सिन्ड्रोम भएका व्यक्तिको तथ्याङ्क उपलब्ध नभए पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार करिब ५०० देखि ८०० जन्ममा एक जनामा यो समस्या भएको व्यक्तिको जन्म हुने गर्छ ।

डा. जोशी एकै व्यक्तिमा यी सबै समस्या नदेखिन पनि सक्ने हुनाले कुनै पनि लक्षण भएमा उनीहरुलाई विशेष रेखदेखको आवश्यक भएको बताउँछिन् ।

यी समस्याबाहेक पनि डाउन सिन्ड्रोम भएका व्यक्तिमा विशेष गरी मुटुका समस्या देखिन पनि सक्छ ।

डाउन सिन्ड्रोम निको नहुने भएकाले यस्ता समस्या भएका बालबालिका तथा व्यक्तिको मनोविज्ञान बुझेर माया, प्रोत्साहन र सहारा दिएर हरेक क्रियाकलापमा साथको आवश्यकता छ ।

बाल रोग विशेषज्ञ डा. समुन्द्र बजिमयको लेख ‘डाउन सिन्ड्रोम’मा उल्लेख भएअनुसार यस्ता बालबालिकालाई सामान्यलाई भन्दा फरक बौद्धिक क्षमता हुने भएकाले विशेषखालको शिक्षाको आवश्कता भएको उल्लेख छ ।

यस्ता समस्या भएका व्यक्तिको खानपिनमा विशेष ख्याल गर्न पनि आवश्यक छ भने विशेष प्रकारको थेरापी पनि आवश्यक हुन्छ । शिशु तीन महिनाको भएदेखि नै चिकित्सकको सल्लाहअनुसार थेरापी, बोल्न थालेपछि बोलीको थेरापी र दैनिक आचरणबारे अकुपेसनल थेरापी पनि गराउन आवश्यक भएको डा. जोशीले बताइन् ।

नेपालमा डाउन सिन्ड्रोम भएका व्यक्तिको तथ्याङ्क उपलब्ध नभए पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार करिब ५०० देखि ८०० जन्ममा एक जनामा यो समस्या भएको व्यक्तिको जन्म हुने गर्छ ।

त्यसैगरी २५ वर्षभन्दा माथिका आमाबाट जन्मेका एक हजार २५० शिशुमा एकजना, ३० वर्षमाथि जन्मेकाबाट एक हजार शिशुमा एकजना, ३५ वर्षमाथिका गर्भबाट जन्मेका ४०० गर्भमा एकजना शिशुमा यो समस्या देखिन सक्छ । रासस

 क्याटेगोरीः विज्ञान-प्रविधि