खालिङको ‘गोयाङको सुगन्ध’लाई पहिचान पुरस्कार


इसमता संवाददाता

काठमाडौं, पुस ११ । कवि तथा कलाकार अर्जुन खालिङको पछिल्लो कविता कृति ‘गोयाङको सुगन्ध’लाई पहिचान पुरस्कार प्रदान गरिने भएको छ । २ लाख २ हजार २ रुपैयाँ राशीको पुरस्कार उक्त कृतिलाई खालिङको मरणोपरान्त प्रदान गर्न लागिएको हो ।
कविता र चित्रकलामा सक्रिय अर्जुन खालिङको गत मंसिर २९ गते अल्पायुमै अनिधन भएको थियो । वि.सं. २०३३ सालमा सोलुखुम्बु, जुभिङमा जन्मिएका खालिङले आफ्नो विद्यार्थी जीवनदेखि नै चित्र र कविता कोर्न थालेका थिए । एसएलसीपश्चात उनले केही समय रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययन गरेपछि ललितकला क्याम्पसमा चित्रकला अध्ययन गर्न पुगेका खालिङले केही समय सोही क्याम्पसमा ललितकला अध्यापन समेत गरेका थिए ।
त्यसपछि त्रिभूवन विश्वविद्यालयबाटै फाइन आर्टस्मा स्नातकोत्तर गरेका खालिङ आफ्नो कविता र चित्रमार्फत उत्पीडित जाति र वर्गको पक्षमा वकालत गर्दै आएका थिए ।
‘सूर्य डडिरहेछ निरन्तर’ र ‘गोयाङको सुगन्ध’ कविता संग्रह प्रकाशन गरेका खालिङको केही कविता अप्रकाशित छन् । अमेरीकी कलाकार जेसीका केनद्वारा सञ्चालित ‘मार्फा आर्ट फाउन्डेशन’को दुई हप्ते परियोजना ‘आर्टिस्ट इन रेडिजेन्स प्रोग्राम’ अन्तर्गत केही वर्षअघि मार्फा पुगेर उनले लेखेका डेढ दर्जन तथा अन्य फुटकर कविता अप्रकाशित छन् । पछिल्लो समय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान अन्तर्गत ‘किराती वास्तुकला’सम्बन्धी उनी अनुसन्धानरत थिए ।
उनले भर्खरै मात्र किराती पूर्खाहरु खाक्चलप, ग्रोम्म्य र लास्म्यको स्केच बनाएका थिए । उक्त स्केचलाई किरात राई यायोक्खाले खोटाङमा अवस्थित तायाचुङ—जायाजुङ डाँडामा प्रतिमाको रुपमा राख्ने भएको छ । उनले विशेषगरी किराती मिथकमा आधारित पेन्टीङ बनाउँदै आएका थिए भने ‘फ्युजन अफ टाइम’ शिर्षकमा विगत र वर्तमानलाई समायोजन गरी अनेकौं पेन्टीङ सिर्जना गरेका थिए ।
सामाजिक सेवा र राजनीतिमा समेत सक्रिय खालिङ किरात राई लेखक संघका अध्यक्ष, चिन्डो बुक्स, चिन्डो फेशन र चिन्डो आर्टका प्रमुख तथा किरात राई प्रज्ञा परिषदका प्राज्ञ रहेका थिए ।
कविता र चित्रकलामार्फत मात्रै नभई भौतिक रुपमै पहिचानका लागि लागिपरेको र ‘गोयाङको सुगन्ध’ले त्यही मुद्दाको उठान गरेको हुनाले खालिङको कृतिलाई उनको मरणोपरान्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पहिचान पुरस्कार कोषले जनाएको छ । सन् २०१५ मा घोषित उक्त पुरस्कार यसअघि आख्यानकार राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’लाई प्रदान गरिएको थियो ।
नेपाली साहित्य उत्थानमा पहिचानसम्बन्धि अध्ययन—अनुसन्धान र लेखनलाई सक्रिय बनाउँदै लेखनको माध्यमबाट बहुल समाजको नयाँ मूल्य मान्यतालाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरिएको पुरस्कार कोषले जनाएको छ । हाल २ लाख २ हजार २ रुपैयाँ रहेको पुरस्कार राशीलाई हरेक पाँच वर्षमा बढाउँदै लगिने कोषका प्रतिनिधि नरेश काङमाङ राईले जानकारी गराए । यो पुरस्कार कृतिलाई प्रदान गरिने भए पनि लेखकको निरन्तरताले पनि महत्व राख्ने उनले बताए । ‘गोयाङको सुगन्ध’लाई चिन्डो बुक्सले प्रकाशन गरेको हो ।

गणेश कुमार राईबाट

 क्याटेगोरीः कला साहित्य