किन बढ्यो ट्राफिक जाम


काठमाडौं, साउन १ । काठमाडौं उपत्यकामा एकाएक पछिल्ला दिनमा सवारी जाम बढ्न थालेको छ । अन्य दिनमा सडकमा सवारी चाप बढे पनि शनिबारसमेत सवारी चाप बढ्नुले ट्राफिक प्रहरीको कार्यशैलीप्रति सडक प्रयोगकर्ताले प्रश्न गर्न थालेका छन् । शनिबार साँझ कोटेश्वरमा सवारी पर्खिरहेका भक्तपुर दुवाकोटका प्रद्युम्न न्यौपाने सवारी जामप्रति प्रश्न गर्दै भन्नुहुन्छ, ‘हाम्रा सडकमा गाडी धेरै भएका हुन् कि ट्राफिकले कामै गर्न छाडेका हुन् ? शनिबार पनि उत्तिकै जाम छ ।’

न्यौपानले करिब एक घन्टा बस कुर्नुभएको थियो । न्यौपाने मात्रै होइन, धेरै यात्रुले उपत्यकाका विभिन्न रुटमा चल्ने सवारीसाधन शनिबार जाममा परेका कारण हैरानी खेप्नुपरेको थियो । कोटेश्वर मात्रै होइन पछिल्लो दुई सातादेखि जाम भइरहेको बानेश्वर, चाबहिल, गौशाला, त्रिपुरेश्वर, सातदोबाटो, लैनचौर, बालाजुमा समेत शनिबार लामो समयसम्म सवारी जाम थियो । रिङरोडमा रोक्ने ट्रक तथा ट्रिपरलाई रोक लगाउनु, ठूला मालवाहक सवारी साधनलाई रिङरोडभित्र प्रवेशमा रोक लगाउनुजस्ता निर्णयले भित्री सडकमा सवारी चाप कम हुनुपर्ने थियो ।

काठमाडौं उपत्यकामा प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, साँघुरा सडक, सवारी नियम तथा ट्राफिक संकेतसम्बन्धी सडक प्रयोगकर्तामा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरूबाट समेत ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिका कारण ट्राफिक व्यवस्थापन गर्न जटिल र चुनौतीपूर्ण रहेको बुझाइ महानगरीय ट्राफिक प्रहरी महाशाखाको छ । महाशाखा प्रमुख डीआईजी मिङ्मार लामा भन्नुहुन्छ, ‘अहिले सवारी जाम बढ्नुमा दुई वटा कारण छन्, पहिलो सडकमा पानी जमेपछि र दोस्रो पानी परेपछि विशेषगरी मोटरसाइकल नगुड्ने र पानी रोकिने बित्तिकै एकै पटक सयौं मोटरसाइकल सडकमा हुइँकिएपछि तिनीहरूले जाम गराउँछन् । समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

 

ट्राफिक प्रहरीलाई दिइँदै आएको भत्ता कटौतीका कारण पनि ट्राफिकले काम नगरेको हो भन्ने प्रश्नमा लामाले भन्नुभयो, ‘ट्राफिकको भत्ता काट्न गृह मन्त्रालयमा मैले नै सिफारिस गरेको हुँ, बरु त्यसको बदलामा कुनै इन्सेन्टिभ रकम तलबमै दिऊँ भनेको हुँ, सडकमा धेरै ट्राफिक खटिएका छन् ।’

कोटेश्वरमा मात्रै महाशाखाले ५४ जना ट्राफिक प्रहरी खटाएको छ । पुराना टोली सबै महाशाखा तानेर थप नयाँ टोली पठाएको हो । ‘कुल ट्राफिक संख्याको २५ प्रतिशत कोटेश्वरमै खटाइएको छ, जाम नियन्त्रणमा आउन सकेको छैन, मैले थाहा पाएसम्म अहिले सिन्धुली-बर्दिबास सडकखण्डमा मात्रै दैनिक एक हजार तीन यात्रुवाहक सवारीसाधन गुड्छन्, अन्य छोटा दूरीका त कति गुड्छन् कति अनि जाम किन नहोस्,’ लामाले प्रश्न गर्नुभयो । गृहमन्त्री जनार्दन शर्माले ट्राफिकको भत्ता कटौती गर्ने व्यवस्था आफ्नो गृह सुधार कार्ययोजनामा राखे पनि निर्णय भने गरिसक्नुभएको छैन ।

 क्याटेगोरीः