काव्यमेलामा पाँच कविको प्रस्तुति


इसमता संवाददाता
काठमाडौँ, वैशाख १९ । उर्वरा फाउन्डेसन, नेपालसँगको सहकार्यमा अराजक अक्षर समूह र कर्मी नाट्य समूह भरतपुर, चितवनले राजधानीको बागबजारस्थित सिटीम्याक्स सिनेमाहलमा आयोजना गरेको ‘काव्यमेला’मा युवा पुस्ताका पाँच कविले आफ्ना पाँच–पाँच कविता सुनाए । मेलामा युवाकविहरू सुदीप कोइराला ‘सुको साइबर’, लक्ष्मी रुम्बा, मुकुन्द खलपात्र, सुशील कुवँर र अञ्जना राई प्रस्तुत भएका हुन् ।

काव्यमेलामा प्रस्तुत भएका पाँच कविका कविता सुनिएसकेपछि प्राज्ञ तथा कवि श्रवण मुकारुङले मेलामा वाचित कविताहरू सबै उत्कृष्ट र फरक–फरक शैलीको रहेको बताए । कवितामा शब्द भन्दा भाव प्रधान हुनुपर्ने उनको आशय थियो । ‘कविता भावनाभन्दा भोगाइमा केन्द्रित हुनु पर्छ, यो नै कविताको सत्य हो ।’ उनले भने । कार्यक्रमको उद्देश्यबारे अराजक अक्षर समूहका सदस्य उत्तम गुरुङ र मिताली थापाले प्रकाश पारेका थिए ।
भरतपुरमा थिएटर निर्माणको अभियानसहित मासिक रूपमा सञ्चालन हुँदै आएको ‘काव्यमेला’को यो छैटौँ शृङ्खला हो । यसअघि मेलामा कवि तथा प्राज्ञहरू श्रवण मुकारुङ, अमर गिरी, शशी लुमुम्बूका साथै मुकुन्द खलपात्र, शीतल लामा र अञ्जन ढुङ्गाना प्रस्तुत भइसकेका छन् ।

 क्याटेगोरीः कला साहित्य