मालपोतमा खुलेआम घूस

काठमाडौं, पुस २३ । डोटीका एक कानुन व्यवसायीले ५ सय रुपैयाँ घूस दिएपछि मात्र मालपोत कार्यालय कैलालीको कम्प्युटर फाँटमा उनको काम अघि बढ्यो । धनगढीमा घडेरी किनेका कानुन व्यवसायीले राजस्वबाहेक मालपोतका विभिन्न फाँटमा गरी ३ हजारभन्दा बढी घूस दिएपछि लालपुर्जा उनको हातमा पर्‍यो ।

कैलाली गदरियाका धर्म चौधरीले अंशबन्डाको जग्गा आफ्नो नाउँमा पास गर्न ३ साताभन्दा बढी कुर्नुपर्‍यो । कहिले कर्मचारी नहुने, कहिले जग्गा विवादित भएको भन्दै फर्काउने र कहिले मुचुल्का आवश्यक छ भन्दै अल्झाउने गरियो । त्यसो गर्दागर्दै ३ साता दु:ख दिइयो । अन्तिममा लेखापढी व्यवसायीमार्फत ५ हजार घूस दिएपछि उनको जग्गा पास भयो ।

कान्तिपुरले बुधबार मालपोत कार्यालयका विभिन्न शाखामा एकसाथ गरेको अनुगमनका क्रममा कैलालीमा भेटिएका यी दुई उदाहरण मात्र हुन् । सेवाग्राही सर्वसाधारणको भीडभाड लाग्ने यो सरकारी कार्यालयमा ‘पैसाबिना कामै नहुने’ गरेको पाइएको छ । पश्चिम नेपालमा सबैभन्दा बढी जग्गा कारोबार हुने कैलाली मालपोतका कर्मचारी घूसबिना बोल्नसमेत मान्दैनन् । समाचार आजको कान्तिपुरमा छापिएको छ ।

एउटा फाँटदेखि अर्कोसम्म फाइल पुर्‍याउने सहयोगीदेखि अधिकारीसम्मलाई तोकिएको रेट दिएपछि मात्र प्रक्रिया अघि बढ्छ । ‘भ्रष्टाचार लुकीछिपी हुँदैन, खुला हुन्छ’, मसुरियाका सेवाग्राही पुष्प जोशीले भने, ‘कानुन व्यवसायीले नै तिर्नुपर्‍यो भने अरूको के कुरा ?’

लेखनदासमार्फत लेनदेन
सबैजसो मालपोत शाखामा कर्मचारीले सीधै घूस माग्दैनन् । त्यसमा पुलको काम गर्छन् लेखापढी व्यवसायीले । तिनले लगेको कागजपत्र फटाफट अघि बढाइन्छ । एक व्यवसायी भन्छन्, ‘साँझमा हिसाबकिताब हुन्छ ।’ सेवाग्राहीले आफैं लिएर गएमा महिनौं
अड्काइदिन्छन् ।

बाँकेको नरैनापुर–२ का यज्ञराम आफ्नो जग्गाको लालपुर्जा श्रेस्ता हेर्न मंगलबार मालपोत कार्यालय आए । फाँटवाला कर्मचारीले ‘फुर्सद छैन’ भन्दै त्यो दिन बिताइदिए । त्यतिका लागि नेपालगन्जमा बास बसे । बुधबार लेखापढी व्यवसायीलाई समाएपछि काम बन्यो । ‘रकम दिएपछि छिनभरमा कागज हेर्न दिइहाले । पहिले थाहा भएको भए यति सानो कामका लागि नेपालगन्जमा बास बस्नुपर्ने थिएन,’ उनले भने, ‘पैसा नदिएसम्म कागजै खोजेनन् ।’

कानुनअनुसार लालपुर्जाको श्रेस्ता हेर्न शुल्क लाग्दैन । मालपोतको नागरिक बडापत्रमा उक्त काम बढीमा एक घण्टामा हुनुपर्ने उल्लेख छ । तर, त्यही कामका लागि व्यवसायीमार्फत एक सय ५० रुपैयाँ घूस खुवाउनुपर्‍यो । ‘गाउँका अगुवाको हैसियतले यज्ञरामको कामका लागि निकै अनुरोध गरे,’ उनलाई सघाउन आएका दयाराम भन्छन्, ‘पैसा दिएपछि मात्रै सुनुवाइ हुने रहेछ ।’

बाँकेकै कनकटवा गाविस पेडारीका कोहलवा चौधरी जग्गा बिक्री गर्न मालपोत आए । किन्ने थिए गाउँकै दशरथ चौधरी । लेखापढी व्यवसायीले राजीनामा लेखेर फाँटमा पेस गरेपछि रकम तिर्न सुरु भयो । पुर्जाअनुसार जग्गा छ/छैन, रोक्का छ वा छैन भनेर यकिन गर्न सुरुमा फाँटमा गएर मोठ भिडाइन्छ । मालपोत कर्मचारीले मोठ हेराइको रेट बनाएका छन् सय रुपैयाँ । पैसा नदिँदासम्म काम अगाडि बढेन । उनले तिर्न बाध्य हुनुपर्‍यो ।

 

 क्याटेगोरीः