काठमाडौंमा साताव्यापी ‘‘म्यानेजमेन्ट ब्रेक २०१७’’ हुने

इसमता संवाददाता
काठमाडौं, बैशाख ६ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टको मास्टर्स इन बिजनेस एडिमनिसट्रेसन नवौं ब्याचको आयोजनामा यही जेठ ३ गतेदेखि काठमाडौंमा साताव्यापी ‘‘म्यानेजमेन्ट ब्रेक २०१७’’ नामक कार्यक्रम हुने भएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दिइएको जनकारी अनुसार उक्त कार्यक्रम त्रिभुवन विश्वविद्यालयको हाताभित्र जेठ ३ गतेदेखि १३ गतेसम्म चल्नेछ ।
कार्यक्रको मुख्य उद्देश्य व्यवसाय र व्यवस्थापन क्षेत्रका विद्यार्थीहरुको चेतना अभिवृद्धि, आपसी सहकार्य र व्यवहारिक समस्या समाधानको क्षमता विकास, रोजगारदाता र विद्यार्थीबीच रहेको दुरी कम गर्ने, विद्यार्थीमा उद्यमशिलताको विकास गर्ने रहेको आयोजकले दाबी गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि ऋषि धमलाले आयोजक साथीहरुलाई निकै उपलब्धिमुलक कार्यक्रम गर्न लागेको भन्दै प्रशंसा गरे । उनले आयोजक मित्रहरुलाई युवा पुस्ता भएकोेले यही पुस्ताले देशलाई खासगरी आर्थिक विकास गर्न सक्ने समेत बताए ।
उनले अब हुने स्थानीय तहको निर्वाचनमा युवाहरुको प्रतिनिधित्व हुनुपर्ने भन्दै युवाहरु नेतृत्वमा आए देशको विकास हुनेमा जोड दिए ।
विभिन्न खेलहरु, कार्यशाला र प्रतियोगिता समावेश गरिएको उक्त कार्यक्रममा बास्केट प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, लेन्स भिउ नामक फोटोस्टोरी प्रतियोगिता हुनेपनि आयोजकले जनाएको छ । त्यस्तै वादविवाद प्रतियोगिता पनि हुने जनाइएको छ ।
आयोजकका अनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उधेश्यले रक्तदान, पुस्तक सहयोग र प्रभातफेरि कार्यक्रम समेत राखिएको छ ।
यसको लागि प्रवेश शुल्क निःशुल्क छ ।

 क्याटेगोरीः समाज