कांग्रेस–माओवादी ‘सम्झौतावादी’ एमाले ‘मण्डले र खोक्रो राष्ट्रवादी’

काठमाडौं, साउन २ । संघीय समाजवादी फोरम नेपालले प्रमुख तीन दललाई पहिचानविरोधी पार्टीको संज्ञा दिँदै झुठा कुरा गर्दै भ्रम फैलाएर जनताको मत लिइरहेको आरोप लगाएको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको पार्टीको राजनीति समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो । फोरम नेपालले सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलाई ‘सम्झौतावादी’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ‘मण्डले र खोक्रो राष्ट्रवादी’को संज्ञा दिएको छ । फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले प्रमुख तीन दललाई पहिचानविरोधी पार्टी रहेको बताउँदै यिनीहरूबाट सचेत हुनुपर्ने निष्कर्ष निकालेको बताए ।

‘कांग्रेस, माओवादी सम्झौतावादी र एमालेको मण्डले एवं खोक्रो राष्ट्रवादले जनताले धोखा पाएका छन्,’ चेम्जोङले राजधानीसँग भने, ‘झुठा कुरा गरेर जनतामा भ्रम फैलाउँदै यिनीहरूले मत लिँदै छन्, शक्ति, सत्ता र पैसाको व्यापक दुरुपयोग गरेका छन् ।’

प्रमुख तीन दलले भ्रम फैलाएकाले स्थानीय तहमा आÏनो पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको संघीय फोरमको निष्कर्ष छ । फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टीका विरोधमा फैलाइएको भ्रम चिर्न नसक्दा अपेक्षाकृत परिणाम ल्याउन नसकेको बताए । २ असोजमा प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनमा ती सबै भ्रम चिर्दै राम्रो नतिजा ल्याउन पार्टी आक्रामक रूपमा प्रस्तुत हुने यादवले बताए । समाचार आजको राजधानीमा छापिएको छ ।

 

‘मधेसी, जनजाति आदिवासी, थारूलगायतले गरेको आन्दोलनलाई कमजोर बनाउने, भ्रम फैलाउन र उनीहरूको मत लिने काम प्रमुख दलले गर्दै छन्,’ यादवले राजधानीसँग भने, ‘पार्टीविरुद्ध फैलाइएको आरोप चिर्छांै र यिनीहरूको वास्तविकता जनतामा राख्दै अहिले हामी प्रदेश २ को निर्वाचनको तयारीमा जुट्छौं ।’

मधेस आन्दोलनलाई कमजोर नबनाउन राष्ट्रिय जनता पार्टी नेपालसँग आग्रह गर्दै यादवले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा फोरम नेपाल एउटै गठबन्धन निर्माण गरेर निर्वाचनमा सहभागी हुन तयार रहेको बताए ।

 

फोरम नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टीको विरोधमा फैलाइएका सबै प्रकारका भ्रम चिर्दै तेस्रो चरणको निर्वाचनमा सशक्त रूपमा सहभागी हुने बताए ।

शुक्रबारदेखि सुरु फोरम नेपालको राजनीतिक समिति बैठक आइतबार सम्पन्न हुँदै छ । बैठकमा निर्वाचनको समीक्षासँगै वर्तमान राजनीति र भावी रणनीतिको विषयमा पनि विशेष छलफल हुने सो पार्टीले जनाएको छ ।

 

 क्याटेगोरीः