एमाले र कांग्रेस अगाडि

काठमाडौं, जेठ ३ । स्थानीय तह निर्वाचनको मतपरिणाममा एमाले र कांग्रेस अगाडि देखिएका छन् । दलहरूबीच प्रतिस्पर्धात्मक देखिएको नतिजामा मंगलबार राति ११ बजेसम्मको गणनाअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।

सुस्त मतगणनाका कारण दुई दिन बितिसक्दा पनि जम्मा दुई नगरपालिकाको मात्र नतिजा आएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका र दैलेखको नारायण नगरपालिकाबाहेक अन्य सबै परिणाम गाउँपालिकाको हो । मुस्ताङको दालोमे र डोल्पाको डोल्पो बुद्धमा स्वतन्त्रले जितेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिकामा एमालेका गणेशबहादुर शाही मेयरमा र  राप्रपाका योगेन्द्रबहादुर शाही उपमेयरमा विजयी भएका छन् । दैलेखको नारायण नगरपालिकामा एमालेका रत्नबहादुर खड्का र उपमेयरमा सावित्री मल्लले जितेका छन् । मनाङ र मुस्ताङको मतगणना सकिएको छ । मनाङका चार गाउँपालिकामध्ये कांग्रेस र एमालेले दुई/दुईवटा प्रमुख जितेका छन् । चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले र नेस्याङमा कान्छा घलेले जितेका छन् । नसोङमा कांग्रेसका चन्द्र घलेले जितेका छन् भने नारफु यसअघि नै कांग्रेस उम्मेदवार निर्विरोध भएका थिए । समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
मुस्ताङका पाँच गाउँपालिकामध्ये कांग्रेस ३, एमाले र स्वतन्त्रले १/१ सिट जितेका छन् । कांग्रेसले लोमान्थाङ, बाह्रमुक्ति क्षेत्र र थासाङको प्रमुख जितेको छ भने एमालेले घरपझोङ र दालोमेमा स्वतन्त्र उम्मेदवार राजु विष्ट विजयी भएका छन् । दुई नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पामा पाँच गाउँपालिका र एक नगरपालिकाको परिणाम आएको छ । एमालेले ठूलीभेरी नगर तथा काइके र शे–फोक्सुन्डो गाउँपालिका गरी तीन तहमा प्रमुख जितेको छ । मुडेचुला र जगदुल्लामा माओवादी केन्द्रले जित हासिल गरेको छ भने डोल्पो बुद्धमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । मुडेचुलामा माओवादी केन्द्रका दत्तबहादुर शाहीले एमालेका लंकबहादुर रोकायलाई दुई मतको अन्तरमा हराए । काइके गाउँपालिकाको मतपरिणाम भने रोचक छ । त्यहाँ एमालेका अंगद रानाले ९ सय २० मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हिराबहादुर रोकायले ८० मत मात्र पाए ।

 

 क्याटेगोरीः