एमाले – माओवादी कार्यकर्ताबीच झडप, उम्मेद्वारको छोराको मृत्यु

काठमाडौं, बैशाख २७ । दोलखा  जिल्लाको गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीच गएराती झडप हुँदा एक एमाले कार्यकर्ताको ज्यान गएको छ ।

मंगलबार राती ९ बजेदेखि लगातार चलेको झडपमा गम्भीर घाइते भएका एमाले कार्यकर्ता कुलबहादुर तमाङको सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी एमालेको वडा सदस्य उम्मेद्वार गोरे तमाङका छोरा हुन् ।

घटनामा परी एमाले निकट शिक्षक दिलबहादुर बुढाथोकी र माओवादी केन्द्रका वडाध्यक्ष उम्मेद्वार भरत कार्की गम्भीर घाइते भएका छन् । बुढाथोकीलाई सदरमुकाम चरिकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागी राजधानी लगिएको स्थानीय प्रशासनले बताएको छ । माओवादी केन्द्रका उम्मेद्वार भरतको ढाडका शरिरका पछाडीका भागहरूमा गम्भीर चोट लागेको छ । अन्य केही सामन्य घाइते छन् ।

मंगलबार राती पूर्व राज्यमन्त्री एवं माओवादी केन्द्रकी नेतृ देवी खड्का सहित जुँगु १ का वडाध्यक्ष उम्मेदवार भरत कार्की लगायत नेता कार्यकर्ता जुँगुकै चेत्पु, राजपु, दार्खा लगायतका टोलहरूमा घरदैलो सकेर जुँगु २ स्थित खड्काको कसेरीमा रहेको घर फर्कदै थिए । स्थानीयहरूका अनुसार दुवारी भन्ने ठाउँमा पुगेपछि माओवादी केन्द्रको टोली माथी एमाले निकट युवाहरुको टोलीले अवरोध गर्दै आक्रमण गर्यो । समाचार आजको नागरिकमा छापिएको छ  ।

‘मलाई लक्षित गरेर हामी माथी ढुङ्गामुढा र बियरको बोतल हान्न थालियो, सम्झाउने पटक पटक प्रयास गरे, संयम्ता अपनाउन आग्रह गरे’ माओवादी केन्द्रकी नेतृ खड्काले टेलिफोनमा नागरिकन्युज सँग भनिन् – ‘नमानेपछि हाम्रा साथीहरू प्रतिकारमा उत्रिनुभयो, त्यसपछि लगातार झडप चलिरह्यो’ । देवीले घटनाबा बारे जानकारी दिदै भनिन् – ‘त्यसपछि मलाई साथीहरुले सुरक्षित स्थलतर्फ लिएर जानु भयो, त्यसपछिका घटनाक्रम बारे जानकार छैन’ ।

स्थानीयले टेलिफोनमा दिएको जानकारी अनुसार दुवारीको उक्त झडपपछि माओवादी केन्द्रका कार्यकर्ताहरु एक घरमा पसेर एमालेका सदस्य उम्मेदवार गोरे तमाङका छोरा कुलबहादुर तमाङ र शिक्षक दिलबहादुर बुढाथोकी बसिरहेको घरमा घरमा आक्रमण गरेका थिए । त्यहाँ समेत दुई पक्षबिच झडप भएको थियो । माओवादी कार्यकर्ताको आक्रमणबाट तमाङ र बुढाथोकी गम्भीर घाइते भएका छन् ।

लगतै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहारो र जिल्ला प्रहरी प्रमुख डिएसपी रविन कार्कीले मैनापोखरीमा रहेका प्रहरी निरीक्षक नवराज न्यौपानेको कमाण्डको टोलीलाई घटनास्थलमा खटाए र उक्त टोलीले तमाङ र बुढाथोकीलाई राती नै उद्धार गरी सदरमुकाम ल्याएको थियो ।

 क्याटेगोरीः