एमालेको दम्भका कारण मुलुक टुक्रिने खतरा : महतो


इसमता संवाददाता

काठमाडौं, मंसिर ८ । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् केन्द्रिय सदस्य डा. विरेन्द्र महतोले संविधान संशोधनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जथाभावी प्रतिक्रिया दिएर सिँगो मधेश र मधेशी जनताको अपमान गरेको भन्दै गुनासो पोखेका छन् ।

बुधबार विहान आफ्नै निवासमा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै सांसद डा. महतोले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले उठाएका माग संविधान संशोधनमार्फत पूरा गर्न एमालेले आनाकानी मात्रै नगरेर सिँगो मधेश र मधेशी जनताहरुमाथि अपमानपूर्ण व्यवहार गरेको भन्दै आक्रोश पोखेका छन् ।

उनले अघि थपे,“यो देशको ठेक्का एमालेले लिएको हो र ? एमालेका नेताहरुले अहंकार पालेर बोल्ने गरेका छन्, एमालेकै कारण यो देश टुक्रिने खतरा छ ।” उनले एमालेका नेताहरुले खोक्रो राष्ट्रवाद प्रदर्शन गरेको समेत आरोप लगाए । डा. महतोले भने,“एमाले र यसको नेतृत्व किन मधेशका समस्यालाई ग्रहण गर्न हिचकिच्चाहट गरिरहेका छन ? हामीलाई त आश्चर्य लागेको छ ।”

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा मधेशी मोर्चाले भनेजस्तो गरी संविधान संशोधन हुनै नसक्ने भनेर एमालेका नेताहरुले बैठकबाटै बाहिरिएको खबर सार्वजनिक भएलगत्तै सांसद महतोले बुधबार सञ्चारकर्मीसँग एमाले र यसको नेतृत्वमाथि आक्रोश पोखेका हुन् । उनले अघि थपे,“मधेशी जनताले अधिकारको लागि धेरै पटक संघर्षको लडाई लडेका छन्, तर एमालेले किन यस्तो दम्भ देखाईरहेको छ, यो हामीले बुझ्न सकेका छैनौं, अब पनि एमालेले दम्भ पालेर बस्छ भने त्यो उसकै लागि घाटा हुन्छ ।”

एमालेको यस्तै स्वभाव र व्यवहार रहिरहे सिँगो मधेशी जनता बाध्य भएर छिट्टै स्वतन्त्र मधेशको मागमा उत्रिने खतरा सांसद डा. महतोले औंल्याए । उनले मधेशमा अब एमालेलाई बहिष्कार गर्ने समेत चेतावनी दिए । महतोले अघि थपे,“अब मधेशी नेता तथा कार्यकर्ताहरुमा दुई वटा विकल्प छ, कि एमाले बहिष्कार गर्नुपर्यो कि त जिन्दगीभर एमालेको गुलाम बन्नुपर्यो ।” उनले मधेशी जनताले एमालेको चरित्र राम्रोसँग नबुझे जिन्दगीभर पश्चाताप गर्नु शिवाय अरु केही विकल्प नरहने बताए ।
त्यस्तै सांसद डा. महतोेले एमालेले सडक र सदन दुवै ठाउँमा नाटकमञ्चन गरिरहेको समेत आरोप लगाए । उनले सांसदहरुको तलब भत्ता बढाउँदा एक शब्द पनि त्यसको विपक्षमा प्रतिक्रिया वा टिप्पणी नगरेको एमालेले सडकमा भातृ संगठन उतारेर राम्रै नाटक मञ्चन गरेको आरोप लगाए ।

उनले अघि थपे,“सांसदहरुको सेवा सुविधा बढाउने कुरामा एक शब्द नबोल्ने एमालेले सडकमा भातृ संगठन उतारेर के तमासा देखाईरहेको छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ, अब अति भयो ?”
प्रधानमन्त्री पुष्पकमल दाहाललाई सङ्घीय गठबन्धनको तर्फबाट दिइएको १५ दिने अल्टिमेटमको समयावधिसमेत सकिन लागेको चर्चा गर्दै आफूहरु शालिन भएर प्रस्तुत हुँदै आएकोमा ठूला भनाउने दलहरुले मधेसको भावनामाथि खेलवाड गर्ने काम गरिरहेको आरोप उनको आरोप थियो ।

मधेस आन्दोलन र मधेसको माग अन्तर्रा्ष्ट्रियस्तरमासमेत स्थापित भइसकेको बताउँदै डा. महतोले भने, ‘मधेसी जनताको कठोर आन्दोलन र बलिदानीलाई खेर जान दिने छैनौँ, मधेसको हक अधिकार संविधानमा उल्लेख नभएसम्म यो संविधान औचित्यहीन हुनेछ ।’

उनले अस्तित्व, स्वाभिमान र पहिचानका लागि मधेसबाट सुरु भएको आन्दोलनले राष्ट्रिय आन्दोलनको स्वरुप ग्रहण गरिसकेको बताउँदै यो आन्दोलनलाई दुनियाँको कुनै पनि ताकतले दबाउन नसक्ने ठोकुवा गरे । महतोले आफूहरुले उठाएको माग सम्बोधन नगरे राज्यले यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुने बताए ।

 क्याटेगोरीः राजनीति